विकासका लागी एकता अपरिहार्य : चेम्बर अध्यक्ष « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

विकासका लागी एकता अपरिहार्य : चेम्बर अध्यक्ष



 काठमाडौं । मुलुकको आर्थिक एवं निजी क्षेत्रको विकासका लागि निजी क्षेत्रका प्रतिनिधिमूलक संस्थाहरुले न्युनतम आर्थिक एजेण्डा तय गरेर कार्यान्वयन गर्नु पर्नेमा जोड दिएका छन् । नेपाल उद्योग वाणिज्य महासंघ र नेपाल उद्योग परिसंघका पदाधिकारीलाई स्वागत गर्न नेपाल चेम्वर अफ कमर्सद्वारा बिहिबार चेम्वर भवनमा आयोजित कार्यक्रमका अवसरमा उक्त कुरा बताईएको हो ।

कार्यक्रमका अवसरमा नेपाल चेम्वर अफ कमर्सका अध्यक्ष राजेश काजी श्रेष्ठले उपस्थित सवैलाई स्वागत गर्दै मुलुकको आथिक र निजी क्षेत्रको विकासमा निजी क्षेत्रका प्रतिनिधिमूलक संस्थाहरु वीचको एकता अपरिहार्य रहेको बताएका छन् । उनले निजी क्षेत्रका समस्या समाधान गर्न तथा बजेट, मौद्रिक नीति, मस्यौदा संविधान तथा भुकम्प पश्चातको पुर्ननिर्माण कार्यमा निजी क्षेत्रको एउटै धारणा आवश्यक रहेको बताउंदै यसले सरकारसगंको सहकार्यलाई पनि थप प्रभावकारी हुने बताए ।

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष पशुपति मुरारकाले बजेट, मौद्रिक नीति, मस्यौदा संविधान जस्ता देशको जल्दाबल्दा विषयमा तिनवटै संस्थाको एउटै आवाज प्रतिविम्वित भएको बताउंदै संविधानमा खुला बजार अर्थतन्त्रको प्रत्याभूतिका लागि संयुक्त प्रयासको आवश्यकता माथि जोड दिएका छन् ।

नेपाल उद्योग परिसंघका अध्यक्ष नरेन्द्र बस्नेतले परिसंघले नेपाल चेम्वर अफ कमर्स र उद्योग वाणिज्य महासंघलाई परिसंघमै बोलाएर स्वागत गरेको स्मरण गर्दै निजी क्षेत्र र आर्थिक विकासमा साझा धारणा आवश्यक रहेको बताए ।

नेपाल उद्योग वाणिज्य महासंघको निर्वतमान अध्यक्ष सुरज वैद्यले मुलुकको आर्थिक तथा निजी क्षेत्रका समस्या समाधान गर्न निजी क्षेत्रका नेतृत्व वर्ग सफल रहने विश्वास व्यक्त गर्दै राजनैतिक दलहरुलाई मान्य हुने गरी न्युनतम आर्थिक एजेण्डा तय गर्न अनुरोध गरेका छन् ।

नेपाल उद्योग वाणिज्य महासंघकी प्रथम उपाध्यक्ष भवानी राणाले बजेट कार्यान्वय तथा भुकम्प पश्चात मुलुकको पुर्ननिर्माणमा निजी क्षेत्रवीच सहकार्य हुनु पर्नेमा जोड दिएकी छन् ।

कार्याक्रममा नेपाल चेम्वर अफ कमर्स, नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघका पदाधिकारी, प्रतिष्ठित उद्यमी व्यवसायीहरु एवं उच्च पदस्थ अधिकृतहरुको उपस्थिती रहेको थियो ।

प्रकाशित : १५ श्रावण २०७२, शुक्रबार ०७:०४