यस्ता छन् कांग्रेसका महत्वकांक्षी योजना « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

बीमा

यस्ता छन् कांग्रेसका महत्वकांक्षी योजना



काठमाडौँ । सत्तारुढ दल नेपाली कांग्रेसले आगामी १० वर्षमा नेपालको अर्थतन्त्र एक सय खर्ब बनाउने जनाएको छ । मंसिरमा हुने प्रदेश तथा प्रतिनिधिसभाको निर्वाचनका लागि तयार पारिएको घोषणापत्रमा कांग्रेसले आगामी ५ वर्षभित्रमा नेपालीको प्रतिव्यक्ति आय डेढ लाख रुपैयाँ पुर्याउने पनि दाबी गरेको छ ।

१० वर्षमा ३२ लाख पर्यटक

‘नेपालको पर्यटन क्षेत्रको तीव्र विकासद्वारा नेपाल समृद्धि र अन्तर्राष्ट्रिय पहिचानको बाटोमा अघि बढ्नेछ’, कांग्रेसले घोषणापत्रमा भनेको छ, ‘राष्ट्रिय पुनर्जागरणको अभियानले तीव्रता पाउनेछ । आगामी दश वर्षमा ३२ लाख पर्यटकलाई आकर्षण गर्ने तथा लाखौं रोजगारीका अवसर सिर्जना गर्न सक्ने गरी पर्यटन क्षेत्र नेपालको समृद्धि र पहिचानको बलियो
आधार बन्नेछ ।’

पाँच वर्षमा ५० खर्बको अर्थतन्त्र

फराकिलो आर्थिक वृद्धिको महत्वाकांक्षी राष्ट्रिय अभियानको नेतृत्व गर्दै नेपाली कांग्रेसले आगामी पाँच वर्षभित्र नेपाली अर्थतन्त्रको आकार (प्रचलित मुल्यमा) ५० खर्ब र प्रतिव्यक्ति औसत वार्षिक आय डेढ लाख रुपैयाँ भन्दा बढी हुने गरी अर्थतन्त्रलाई गतिशील बनाउनेछ ।

यसका लागि नेपाली कांग्रेसले नीतिगत सुधारहरुको व्यापक पहल, अभूतपूर्व स्वदेशी तथा विदेशी पूँजीको परिचालन, चुस्त आर्थिक व्यवस्थापन र असल शासनको प्रत्याभूति सुनिश्चित गर्नेछ ।

आगामी १० वर्षभित्र नेपाललाई एउटा सम्मानजनक मध्यम आय भएको गतिशील राष्ट्र बनाउने संकल्पका साथ नेपाली कांग्रेस क्रियाशील रहनेछ । यसका लागि प्रचलित मूल्यमा अर्थतन्त्रको आकार आजको भन्दा चार गुणा ठूलो बनाउनु पर्नेछ । कम्तिमा पनि एक दशकसम्म वार्षिक सात देखि दश प्रतिशतसम्मको आर्थिक वृद्धि दर निरन्तर हासिल गर्दै हरेक वर्ष तीन देखि पांच लाख रोजगारीका अवसर सिर्जना गर्न नेपाली कांग्रेस प्रतिबद्ध छ । यो उद्देश्य पूर्ति गर्नका लागि नेपाली कांग्रेसले उपयुक्त आन्तरिक तथा वाह्रय लगानीको वातावरण तयार गर्नेछ ।

कर्मचारीलाई घुम्न २५ हजार

नेपाली कांग्रेसले पर्यटनलाई बढावा दिन कर्मचारीलाई पनि पैसा दिने कुरा घोषणापत्रमा उल्लेख गरेको छ । उसले आन्तरिक पर्यटन प्रवद्र्धन गर्न सरकारका राष्ट्रसेवक कर्मचारीहरुलाई वर्षमा पाँच दिन घुमघाम विदा र २५ हजार नगद प्रोत्साहन दिइने जनाएको छ ।

त्यसैगरी ट्रेकिङ्ग व्यवसायमा संलग्न भरियाहरुलाई स्तरीय बुट र पोशाकको व्यवस्था गर्न सम्बन्धित रोजगारदाता कम्पनीहरुलाई वित्तीय प्रोत्साहन दिइने कांग्रेसले जनाएको छ । ‘अर्को पाँच वर्षमा सार्वजनिक निजी सहकार्यमा पर्यटकीय र आर्थिक सम्भाव्यता हेरी मनकामना र चन्द्रगिरी जस्तै नेपालभर कम्तिमा आठ वटा थप केबुलकार योजना कार्यान्वयन हुनेछन्’, घोषणापत्रमा भनिएको छ ।

वार्षिक ५ खर्बसम्म विदेशी लगानी

कांग्रेसले कुल गार्हस्थ्य उत्पादनको अनुपातमा औसत पाँच प्रतिशत (वार्षिक १ खर्बदेखि ५ खर्व बराबरको विदेशी प्रत्यक्ष लगानी भित्र्याइने जनाएको । यसबाट अर्थतन्त्रमा स्वदेशी उत्पादनमूलक उद्योगको अंश ५ बाट १५ प्रतिशत पुगी अन्तर्राष्ट्रिय उत्पादन सञ्जालमा गाँसिएको हुने कांग्रेसले उल्लेख गरेको छ ।

युवालाई बेरोजगारी भत्ता

१२ कक्षाको अन्तिम परिक्षामा सहभागी भएका नव–युवालाई लक्षित गरी तरूण सीप वृत्ति योजना अन्तर्गत उनीहरुलाई स्थानीय प्रशासनमा इन्टर्नसीप गर्ने कार्यक्रममा संलग्न गराइने कांग्रेसको घोषणापत्रमा उल्लेख छ । यस कार्यक्रम अन्तर्गत देशभरिका न्यूनतम एक लाख युवालाई
संलग्न गराइने उसको योजना छ ।

स्नातक उपाधि हासिल गरेका तर वेरोजगार शिक्षित युवाहरुलाई स्थानीय तहमा सामुदायिक स्वयंसेवा गरे वापत दुई वर्ष सम्म वेरोजगार भत्ता दिइनेछ । यसका साथै कम शिक्षा हासिल गरेका अन्य युवाहलाई दक्ष बनाउन निव्र्याजी ऋण र निरन्तर तालीमको ब्यवस्थाका साथै कम्तिमा १०० दिन रोजगारीको ग्यारेण्टी गरिने कांग्रेसले दाबी गरेको छ ।

विदेशबाटै मत दिन पाइने

कांग्रेसले आगामी दश वर्षभित्रमा नेपाल बाहिर रोजगारी वा व्यवसायका लागि गएका नेपाली नागरिकता र राहदानी वाहक नेपालीलाई विदेशबाटै निर्वाचनमा मत दिन पाउने कानूनी व्यवस्था र प्रशासकीय प्रवन्ध गरिने जनाएको । विदेशमा आर्जन गरेको सम्पत्ति नेपालमा सञ्चयका लागि ल्याउँदा कुनै कर नलगाउने व्यवस्था मिलाइने उसले उल्लेख गरेको छ । वैदेशिक रोजगारीमा श्रमिक पठाउँदा गन्तव्य मुलुकहरूसँग श्रमिक–अनुकूल सम्झौता गर्ने व्यवस्था मिलाइने कांग्रेसले जनाएको छ ।

पाँच वर्षमा ५ हजार मेगावाट बिजुली

कम्तिमा चार सय केभी क्षमताका ५ वटा अन्तरदेशीय प्रसारण लाइन निर्माण सम्पन्न गरिनेछ । आगामी पाँच बर्ष भित्र पूर्व–पश्चिम उच्च–भोल्टेज क्षमताको १०५० किलोमिटर ट्रङ्क प्रसारण लाइन निर्माण सम्पन्न गरिने कांग्रेसको योजना छ । आगामी पाँच बर्षभित्रमा कुल ५,००० मेगावाट जलविद्युत् उत्पादन गरिनेछ । निर्माणाधीन माथिल्लो तामाकोशी, अरुण तेस्रो, माथिल्लो कर्णाली, माथिल्लो सेती लगायतका ठूला, मझौला र साना योजनालाई द्रुत गतिमा बनाउने कांग्रेसको घोषणापत्रमा लेखिएको छ ।

गरिबलाई ३० युनिट बिजुली निःशुल्क

कांग्रेसले सरकार बनाउन सकेमा प्रत्येक विपन्न नेपाली परिवारलाई घरायसी प्रयोजनका लागि मासिक ३० यूनिट विद्युत् निःशुल्क उपलब्ध गराउने सोचका साथ ऊर्जा विकास कार्यक्रम संचालन गरिने जनाएको छ ।

चीन जोड्ने ५ वटा राजमार्ग

कांग्रेसले दक्षिण भारतीय सिमाना देखि उत्तर चिनियाँ सिमानासम्म जोड्ने ५ वटा उत्तर–दक्षिण राजमार्ग निर्माण गरिने उल्लेख गरेको छ । यस्ता राजमार्ग न्युनतम दुइ लेनका हुने बताइएको छ । आगामी दश बर्ष भित्रमा थप तीनवटासहति जम्मा ८ वटा उत्तर–दक्षिण राजमार्गहरु नेपाल चीन पारवहन मार्गका रुपमा सञ्चालनमा आउने कांग्रेसको दाबी छ ।

पाँच अन्तर्राष्ट्रिय एयरपोर्ट

कांग्रेसले पाँचवटा अन्तर्राष्ट्रिय विमानस्थलहरु निर्माण गरिने योजना ल्याएको छ। प्रत्येक वर्ष ३२ लाख भन्दा बढी पर्यटक नेपाल भित्रिनेछन् र पचास लाख नेपालीहरुले पर्यटन उद्योगमा प्रत्यक्ष वा अप्रत्यक्ष रोजगारी पाउने दाबी पनि उसको छ ।

विद्युतीय सवारी र रेल्वे लाइन निर्माण

प्रमुख पर्यटकीय नगरहरुमा शतप्रतिशत र अन्य सहरहरुमा वहुसंख्यक सवारी साधन विद्युतीय हुने कांग्रेसले उल्लेख गरेको छ । काठमाडौं–मधेस एक्सप्रेसवे लगायत ४ देखि ६ लेनका १००० किमी भन्दा बढी द्रुत–मार्ग, ५०० कि.मी. भन्दा बढी रेल्वे लाइन, ५०,००० भन्दा बढी किलोमिटर कालोपत्रे सडक सञ्जालले राष्ट्रलाई जोडेको हुने कांग्रेसको सपना छ ।

प्रकाशित : १३ कार्तिक २०७४, सोमबार २०:२७