जलविद्युतलाई राष्ट्रिय आम्दानीको मेरुदण्डका रुपमा स्थापित गर्ने सरकारको नीति छः मन्त्री दिलनाथ गिरी « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

जलविद्युतलाई राष्ट्रिय आम्दानीको मेरुदण्डका रुपमा स्थापित गर्ने सरकारको नीति छः मन्त्री दिलनाथ गिरी



काठमाडौं । जलविद्युत्लाई राष्ट्रिय आम्दानीको मेरुदण्डका रुपमा स्थापित गर्ने सरकारको नीति रहेकाले यस क्षेत्रमा स्वदेशी तथा विदेशी लगानी प्रोत्साहन गर्न सरकारले लचिलो नीति लिएको सहरी विकास मन्त्री दिलनाथ गिरीले बताउनुभएको छ । नेपालमा जलविद्युत् विकासकर्ताहरुलाई उपकरण आपूर्ति गरिरहेको अष्ट्रियन कम्पनी एन्ड्रिज हाइड्रोले आयोजना गरेको ‘ग्राहक भेटघाट कार्यक्रमको उद्घाटन सत्रलाई सम्बोधन गर्दै मन्त्री गिरीले नेपालमा जलविद्युत् विकासका लागि पनि अष्ट्रियन लगानीकर्ताहरुलाई आग्रह गर्नुभयो ।


कार्यक्रममा नेपालका लागि अष्ट्रियाकी राजदूत ब्रिगिट ओपिनिगर वाल्सफोरले जलविद्युत् स्वच्छ, नवीकरणीय उर्जाको स्रोत हुनुका साथै आम्दानीको ठूलो स्रोत भएकाले नेपालले जलविद्युत् विकासलाई प्राथमिकतामा राख्नुपर्ने बताउनुभयो । नवीकरणीय तथा स्वच्छ उर्जाले वातावरणीय प्रदूषण न्यूनीकरण गर्नुका साथै पेट्रोलियम पदार्थमाथिको निर्भरता घटाउन मद्दत गर्ने उहाँको भनाई थियो ।

त्यस्तै नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले नेपालको कुल जलविद्युत् उत्पादन क्षमताको दश प्रतिशतभन्दा कममात्र दोहन भएको भन्दै एन्ड्रिजका लागि नेपाल ठूलो बजार रहेको उल्लेख गर्नुभयो । एन्ड्रिजले नेपालमा विगत दुई दशकदेखि उपकरण आपूर्ति गर्दै आएको छ । एण्ड्रिजका उपकरण गुणस्तरीय तथा आपूर्तिपछिको सेवा पनि विश्वसनीय रहेको उहाँले बताउनुभयो । एण्ड्रीजले जलविद्युत् उपकरण आपूर्तिमा नेपाली बजारमा ठूलो हिस्सा ओगट्छ ।

नेपालको सबैभन्दा उच्च क्षमताको जलविद्युत् आयोजना माथिल्लो तामाकोसी, चिलिमे, मध्य भोटेकोसी एन्ड्रिज हाइड्रोका उपकरण प्रयोग भएका केही प्रतिनिधि आयोजनाहरु हुन् । अन्य निजी प्रवद्र्धकहरुले विकास गरेका आयोजनाहरुमा पनि एण्ड्रिजका उपकरण प्रयोग भएका छन् । घिसिङले नेपाल एण्ड्रिजका लागि ठूलो सम्भावना भएको बजार भएको उल्लेख गर्दै अहिले विद्युत् खरिद सम्झौता भएर निर्माणको क्रमम ३,५०० मेगावाट क्षमताका ३०० जति आयोजनाहरु रहेको बताउनुभयो । प्रवद्र्धकहरुलाई विश्वासमा लिन गुणस्तरीय सामग्री आपूर्ति र बिक्रीपछिको सेवालाई पनि चुस्त राख्न घिसिङको सुझाव थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै नेपालका लागि कमर्सियल कन्सुलर ओस्कर एण्ड्सनरले एन्ड्रिजले नेपालमा बीसौं वर्षदेखि काम गर्दै आएको र अन्य अष्ट्रियन कम्पनीहरु पनि नेपालमा व्यवसाय गर्न इच्छुक रहेको बताउनुभयो । नेपालमा अस्ट्रियन लगानी प्रवद्र्धन गर्ने उद्देश्यले पहिलोपटक ‘नेपाल—अस्ट्रिया इकोनोमिक फोरम’को आयोजना गरिएको उल्लेख गर्दै अन्य कम्पनीहरु पनि एन्ड्रिजजस्तै च्याम्पियन हुने आशा व्यक्त गर्नुभयो ।
कार्यक्रममा पाँच सयभन्दा बढी प्रबद्र्धक, विज्ञ, तथा जलविद्युत् प्रवद्र्धनमा चासो राख्ने व्यक्तिहरुको सहभागिता रहेको छ । एन्ड्रिजको ग्राहक भेटघाट कार्यक्रम बिहीबारसम्म चल्नेछ ।

प्रकाशित : १५ कार्तिक २०७४, बुधबार २०:४६