संविधानको मस्यौदामा अर्थमन्त्री असन्तुष्ट « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

संविधानको मस्यौदामा अर्थमन्त्री असन्तुष्ट



Mahatकाठमाडौं। अर्थमन्त्री डा.रामशरण महतले संविधानको प्रारम्भिक मस्यौदामा निजी क्षेत्रको भूमीका संकुचन गर्न खोजिएकोप्रति आफू पनि असन्तुष्ट रहेको बताएका छन् । मस्यौदामा धेरै कमजोरी रहेको भन्दै आफू पनि यसमा सुधार गरिनुपर्ने पक्षमा रहेको उनले बताए ।

नेपाल उद्योग परिसंघले सोमबार राजधानीमा गरेको ‘संघीय प्रणालीमा आर्थिक व्यवस्थापन’सम्बन्धी गोष्ठिका अवसरमा उनले मस्यौदामा सुधार आवश्यक रहेकोमा जोड दिएका हुन् ।

समाजवादतर्फ उन्मुख हुने व्यवस्था गरिएकोप्रति उनले ‘वाद’ दलहरुले लिने हो तर संविधान निष्पक्ष रहनु पर्ने जिकिर गरे । मौलिक हकमा दल र नेताका चाहनाको थुप्रो लगाइएकोप्रति पनि उनले असन्तुष्टि जनाए । मौलिक हकमा राज्यले लागू गराउन सक्ने विषय वस्तुहरु मात्र राखिनुपर्ने उनको भनाइ छ ।

अब खुला अर्थतन्त्रलाई कसैले उल्टाउन नसक्ने भन्दै संविधानमा अनावश्यक कुरा भने लेखिन नहुनेमा पनि उनले जोड दिए । आउने संविधान निजी क्षेत्रमैत्री, लगानी प्रवद्र्धन गर्ने आउनुपर्ने डा. महतको भनाइ छ ।

सबै दलको लक्ष्य आर्थिक उन्नति नै भएकाले मस्यौदामा सुधार हुनेमा आफू विश्वस्त रहेको पनि उनले उल्लेख गरे ।

संघीय प्रणालीमा जाँदा आर्थिक व्यवस्थापन कसरी गर्ने यसमा बेलैमा सचेत भएर तयारी गर्नुपर्नेमा सहभागी अर्थविद्, उद्योगी–व्यवसायीहरुले जोड दिएका थिए ।

परिसंघका अध्यक्ष नरेन्द्रकुमार बस्न्यातले मस्यौदाले उदार तथा खुला बजार अर्थतन्त्रलाई महत्व नदिएकोमा आफूहरुको असन्तुष्टि रहेको भन्दै सुधार गर्न आग्रह गरेका थिए ।

प्रकाशित : १८ श्रावण २०७२, सोमबार १५:०७