विदेशीको इशारामा ल्याइएको गणतन्त्र चाहिन्न ः शाही यूवा शक्ति नेपाल « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

विदेशीको इशारामा ल्याइएको गणतन्त्र चाहिन्न ः शाही यूवा शक्ति नेपाल



सन्तोषी अधिकारी,

काठमाडौं । शाही युवा शक्ति नेपालले विदेशीको इशारामा चोरबाटोबाट ल्याइएको गणतन्त्र खारेज गर्नु पर्ने माग गरेको छ । सोमबार काठमाडौंको गोंगबु चोकमा पूर्व राजा ज्ञानेन्द्र शाहको देशका नाममा जारी विज्ञप्तीको स्वागतार्थ आयोजना गरेको दिप प्रज्वलन तथा ¥यालीमा शाही युवा शक्ति नेपालले विदेशीको इशारामा चोरबाटोबाट ल्याइएको गणतन्त्र खारेज नगरेसम्म नेपाल र नेपालीको भविष्य अन्यौलमा नै रहने भन्दै गणतन्त्र खारेजीको माग गरेको हो ।

 

 

गोगंवु चोकको सडकमा हजारौं यूवाहरु उतारेको शाही युवा शक्ति नेपालले नजिकिदै गएको प्रदेशसभा र प्रतिनिधि सभा निर्वाचन पनि खारेजीको माग गरेको छ । राजसंस्था नै नेपालको इतिहास भएकोले राजसंस्थालाई पाखा लगाएर नयाँ नेपाल बन्नै नसक्ने समेत ठोकुवा गरेको छ । राजसंस्था नभए देशको राष्ट्रियता पनि खतरामा पर्ने शाही युवा शक्ति नेपालको भनाइ छ ।

शाही युवा शक्ति नेपालका अध्यक्ष पशुपति खड्काले नेताहरु स्वार्थपूर्तिको निम्ती छिमेकीले जे सिकायो त्यहि काममा होमिने प्रवत्ति रहेकाले छिमेकीको इशारामा ल्याइएको गणतन्त्र नेपालमा रहिरह्रयो भने देश टुक्रिने बताउनुभयो । उहाँले राजसंस्थाले एकीकरण गरेको नेपाल अहिले गणतन्त्रको हिमायतीले टुक्राउने तर्फ अघि बढेको रहेको आरोप लगाउनुभयो ।

‘नयाँ नेपाल बनाउने निहुँमा इतिहासलाई मेट्ने काम भएको छ, नेपालको राष्ट्रिय एकता, राष्ट्रिय अखण्डता, सार्वभौमसत्ता, राष्ट्रियता गुम्ने खतरा बढेर गएको छ, नेपाली जनताको चाहना विपरित विदेशीको इशारामा गणतन्त्र, धर्म निरपेक्षता र संघीयता जबर्जस्ती लाद्ने काम भएको छ, यो हामीलाई किमार्थ मान्य छैन’ उहाँले भन्नुभयो ।

उहाँले नेपालको विद्यमान समस्याको जड नै गणतन्त्र भएको बताउँदै त्यसलाई जरैबाट उखेलेर फालेपछि समस्याको समाधान हुने दाबी गर्नुभयो । ‘अब जनता सुतेर होइन, जागेर बोल्ने बेला आएको छ, हाम्रो राष्ट्रियता खतरामा पर्नुबाट जोगाउनु पर्छ, अब जागौं, असफल गणतन्त्रको विरोध गरौं, राजतन्त्र पूर्नवहाली गरौं’ उहाँले भन्नुभयो ।

शाही युवा शक्तिले राजतन्त्र पूर्नस्थापना र गणतन्त्रको खारेजीको लागि उपत्यका केन्द्रित आन्दोलनलाई निरन्तरता दिने समेत बताएको छ ।

प्रकाशित : २१ कार्तिक २०७४, मंगलवार ११:२०