गठबन्धनको प्रतिज्ञाः ५ बर्ष भित्र केरुङ–काठमाडौं–पोखरा–लुम्बिनी जोड्ने रेल (पूर्णपाठ) « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बीमा

गठबन्धनको प्रतिज्ञाः ५ बर्ष भित्र केरुङ–काठमाडौं–पोखरा–लुम्बिनी जोड्ने रेल (पूर्णपाठ)



काठमाडौं । एमाले र माओवादीले आगामी ५ वर्षमा गर्ने काम समेटेर गठबन्धनको चुनावी घोषणापत्र सार्वजनिक गरेका छन् । घोषणापत्रमा ५ वर्ष भित्र पूर्वपञ्चिम राजमार्गको समानान्तर विद्युतीय रेलमार्ग देखि रसुवागढी काठमाडौं, पोखरा र लुम्बिनीलाई रेलमार्गले जोड्ने प्रण गरिएको छ ।

यस्तै हिमाली जिल्ला सदरमुकामलाई चार लेनका सडकमार्फत चीनको सीमानामा जोड्ने, हुलाकी राजमार्ग र मध्यपहाडी राजमार्गलाई चार लेनको बनाएर सञ्चालन गरिने घोषणा पत्रमा उल्लेख छ ।

‘आगामी पाँच वर्षमा पूर्व–पश्चिम राजमार्गको समानान्तर तीव्र गतिका विद्युतीय रेल सञ्चालन गरिनेछ । यसै अवधिमा रसुवागढी–काठमाडांै–पोखरा, लुम्बिनी विद्युतीय रेलमार्ग निर्माण गरिनेछ । आगामी पाँच वर्षमा राजधानी उपत्यकाका चक्रपथहरूमा आवश्यक गतिको रेल सञ्चालन गरिनेछ’ संयुक्त घोषणापत्रमा उल्लेख छ, ‘काठमाडौं र वीरगञ्जलाई जोड्ने रेलमार्ग निर्माण कार्य अघि बढाइनेछ । काठमाडौंलगायत अन्य मुख्य सहरहरूमा सम्भाव्यता हेरी मेट्रो र मोनोरेल, ट्राम र अत्याधुनिक सार्वजनिक यातायात सञ्चालन गरिनेछ ।स्थानीय तहमा चक्रपथको सम्भाव्यता अध्ययन गरी निर्माण आरम्भ गरिनेछ ।’

 

 

राजधानी काठमाडौंलाई छिमेकी देशका रेलमार्गसँग जोड्ने र राजधानीसँग सबै प्रदेशका केन्द्रहरुलाई द्रूतमार्गले जोड्ने प्रण घोषणा पत्रमा गरिएको छ । ‘राजधानी काठमाडौंलाई छिमेकी मुलुकका रेलमार्ग सञ्जालसँग तथा राजधानीलाई सबै प्रादेशिक केन्द्रहरूसँग द्रुतमार्गहरूद्वारा जोडिनेछ । प्रदेश तथा स्थानीय सरकारसँग समन्वय गरी प्रदेश केन्द्रहरूलाई जिल्ला सदरमुकाम तथा स्थानीय तहका केन्द्रसँग आधुनिक यातायात सञ्जालद्वारा जोडिनेछ’ घोषणा पत्रमा उल्लेख छ ।’

यहाँ हेर्नुस पूर्णपाठ

प्रकाशित : २१ कार्तिक २०७४, मंगलवार १६:००