यसरी ठगिन्छन् एमबीबीएस अध्ययन गर्न बङ्गलादेश पुगेकाहरू « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

यसरी ठगिन्छन् एमबीबीएस अध्ययन गर्न बङ्गलादेश पुगेकाहरू



काठमाडौं । एमबीबीएस अध्ययनका लागि बङ्गलादेश पुगेका थुप्रै विद्यार्थी ठगिने गरेका छन् । बङ्गलादेश पुगेर ठगिने मात्र होइन, नेपालमै शैक्षिक परामर्शदाता (कन्सल्टेन्सी) बाट ठगिने गरेका छन् ।

नेपाल मेडिकल काउन्सिलका अनुसार सयौँ विद्यार्थी बङ्गलादेशमा गएर ठगिएका छन् । नेपाली कन्सल्टेन्सीहरूले बङ्गलादेश पठाएबापत प्रतिविद्यार्थी तीनदेखि पाँचलाख रुपियाँसम्म लिने गरेका छन् ।

नेपाल मेडिकल काउन्सिलका अध्यक्ष धर्मकान्त बाँस्कोटाले एमबीबीएस अध्ययनका लागि भरसक बङ्गलादेश नजान र जाँदा राम्रोसँग बुझेर मात्र जान आग्रह गरे ।

उनले भने, “ठगिने नेपाली विद्यार्थीको लामो सूची प्राप्त भएको छ । ” नेपाली विद्यार्थी बङ्गलादेश गएर मेडिकल कलेजमा अध्ययन गरेको एक–दुई वर्षमा पनि ठगिने गरेका छन् ।

काउन्सिलका अनुसार बङ्गलादेशमा विदेशी विद्यार्थीहरूका लागि ३० प्रतिशतमात्र सिट छुट्याइएको हुन्छ ।

कुनै कुनै कलेजमा विदेशी विद्यार्थीका लागि ३० जना कोटा भए पनि ५० जना नेपाली विद्यार्थीलाई भर्ना गरिएको पाइएको छ ।

भारत, बर्मा लगायतका देशबाट समेत बङ्गलादेशमा एमबीबीएस अध्ययन गर्न जाने विद्यार्थीको सङ्ख्या धेरै हुने भएकोले नेपालबाट जाने विद्यार्थीले एमबीबीएस अध्ययनका लागि अवसर नपाउने प्रस्ट्याए ।

बङ्गलादेशका मेडिकल कलेजहरूले पनि नेपाली कन्सल्टेन्सीलाई जति पनि विद्यार्थी पठाउन भनेकोले कलेज र कन्सल्टेन्सी मार्फत नेपालीहरू ठगिँदै आएको काउन्सिलको दाबी छ ।

उनले भने, “जथाभावी कमिसन खाएर विद्यार्थी पठाउने कन्सल्टेन्सीलाई सरकारले नियन्त्रण गर्न सक्नुपर्दछ । ”

बङ्गलादेश गइसकेपछि विद्यार्थीलाई बङ्गलादेशको मेडिकल कलेजले भर्ना गरिदिन्छ ।

अध्ययन गर्न पनि पाएकै हुन्छन् । अध्ययनपछि परीक्षा पनि दिने गरेका छन् तर परीक्षा दिइसकेपछि नतिजा प्रकाशनका बेला नेपाली विद्यार्थीहरूको नतिजा अनुत्तीर्ण भनी उल्लेख हुने गरेको छ ।

एक वर्षपछि पैसा फिर्ता माग्दा ‘तिमीहरूले भर्ना भएर अध्ययन गरिसक्यौ, अब पैसा फिर्ता हुँदैन, अर्को वर्ष मिल्यो भने पुनः अध्ययन गर्नू’ भन्ने जवाफ बङ्गलादेशको मेडिकल कलेजले दिने गरेको छ ।

बङ्गलादेशको नाइटेङ्गल मेडिकल कलेजमा अध्ययन गरेका १८ जना विद्यार्थी त्यसैगरी ठगिएका छन् ।

त्यहाँस्थित मेडिकल काउन्सिलले उक्त कलेजलाई कारबाही गरेपछि मात्र नेपाली विद्यार्थीले आफू ठगिएको पत्तो पाए ।

त्यसपछि दूतावास गुहार्न गएपछि दूतावासको पहलमा उक्त कलेजबाट विद्यार्थीहरूको ढाका विश्वविद्यालय अन्तर्गतका मेडिकल कलेजमा स्थानान्तरण भएको थियो ।

नेपाल मेडिकल काउन्सिलका अनुसार नाइटेङ्गल मेडिकल कलेजमा अध्ययन गरेर सबै पैसा त्यही कलेजलाई बुझाएका नेपाली विद्यार्थीले अरू कलेजले थप रकम नदिँदासम्म अध्ययन गराउन मानेन । (गोरखापत्र दैनिक)

प्रकाशित : ११ मंसिर २०७४, सोमबार ०८:२९