विश्व बैंकको एकतीस अर्ब ऋण सहयोग « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

विश्व बैंकको एकतीस अर्ब ऋण सहयोग



काठमाडौं । विश्व बैंकले वित्तीय क्षेत्र सुधार कार्यक्रम र अवास पुनःनिर्माण परियोजना कार्यान्वयन गर्न रु ३१ अर्ब सहुलियत ऋण उपलब्ध गराउन सहमत भएको छ । अर्थ मन्त्रालयमा शुक्रबार आयोजित कार्यक्रममा अर्थसचिव सुमनप्रसाद शर्मा र नेपालका लागि विश्व बैंकका निर्देशक जोहानेस जुटले सम्झौतामा हस्ताक्षर गरेका हुन ।

विश्व बैंक समूहअन्तर्गतको अन्तर्राष्ट्रिय विकास निगम (आइडिए)ले उपलब्ध गराउने ऋणमध्ये रु १० करोड बजेटमार्फत खर्च गरिने उल्लेख गरिएको छ ।

अवास पुनःनिर्माण परियोजनाअन्तर्गत पहिलो चरणमा ५५ हजार घर पुनःनिर्माणका लागि उक्त रकम खर्च गरिनेछ । त्यसैगरी दोस्रो चरणमा विपद्को जोखिम गर्ने तयारीका कार्यक्रम सञ्चालनमा खर्च गरिनेछ ।

कार्यक्रममा अर्थसचिव सुमनप्रसाद शर्माले भूकम्पपछिको पुनःनिर्माणका कार्यक्रमलाई तीब्र गतिमा अगाडि बढाइने विश्वास दिलाउँदै विश्व बैंकलगायतका दातृ निकायले निरन्तर सहयोग उपलब्ध गराउने विश्वास व्यक्त गरे।

विश्व बैंकका निर्देशक जुटले भूकम्पछिको पुनःनिर्माणका लागि खडा गरिएको राष्ट्रिय पुनःनिर्माण प्राधिकरणको प्रमुख कार्यकारी अधिकृत नियुक्त भएकाले पुनःनिर्माणका कार्य अगाडि बढ्ने विश्वास व्यक्त गरे ।

प्रकाशित : ३० श्रावण २०७२, शनिबार ०८:३२