‘बन्दलाई संबिधानमै निषेध गरियोस’ « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

‘बन्दलाई संबिधानमै निषेध गरियोस’



काठमाडौं ।  उद्योगी ब्यवसायी, अर्थविद्, नागरिक समाजका अगुवाहरुले बन्दको विकल्प खोज्न आग्रह गरेका छन । बन्द जारी रहे आर्थिक बृद्धिको लक्ष्य भेट्न कठिन हुने समेत उनिहरुले चिन्ता व्यक्त गरेका छन् । सोमबार काठमाण्डौंमा भएको यस सम्बन्धी कार्यक्रममा  उनीहरुले बन्दले जनतालाई अझै गरिब बनाउने भएकोले विरोधको शैली परिवर्तन गर्न आग्रह गरेका हुन् ।

राष्ट्रिय योजना आयोगका सदस्य डा.चन्द्रमणी अधिकारीले यस्तै बन्द हडताल जारी रहने हो भने राज्यले अनुमान गरेको ६ प्रतिशतको आर्थिक बृद्धि दर हासिल हुन नसक्ने समेत बताए । राजनीतिक दलहरुले बन्द नगर्ने प्रतिबद्धता ब्यक्त गरेको आधारमा आर्थिक बृद्धिदर अनुमान गरिने भएकाले यस्ता बन्द, हडतालले प्रभाव पर्ने तर्फ सबै सचेत हुनुपर्नेमा उनले जोड दिएका हुन ।

अधिकारीले एक दिनको बन्दले मुलुकमा अढाई देखि तीन अर्व रुपैया बराबरको नोक्सानी हुने दाबी गरे ।बन्दले मुलुकको आर्थिक, समाजिक र दैनिक जीवनमा असर पार्ने त छँदैछ, लगानी समेत नआउने हुँदा दिर्घकालिन असर पर्ने तर्फ गम्भिर बन्न सरोकारवालासमक्ष उनले आग्रह गरे ।

नागरिक समाजका अगुवा डा.सुन्दरमणी दिक्षितले बन्द विरुद्ध उत्रन आह्वान नै गरे । विरोध गर्नु परे खुलामञ्चमा विरोध गर्न उनले बन्दकर्तालाई आग्रह गरे ।

नेपाल उद्योग बाणिज्य महासंघका उपाध्यक्ष दिनेश श्रेष्ठले कसैले पनि बन्द गर्नु अघि संविधानले नै सार्वभौम बनाएको नेपाली जनताको अनुमति लिनु पर्ने भन्दै जनताको आवतजावत पेशा ब्यवसाय गर्ने मौलिक हकको हनन गर्नेले त्यसको क्षतिपूर्ति दिनु पर्ने माग गरे ।

उनले बन्दलाई संबिधानमै निषेध गरिनुपर्ने समेत बताए । उनले सबैले निर्वाध रुपमा काम गरेर खान पाउने अधिकार सुनिश्चित नगरेसम्म संविधान पूर्ण हुन नसक्ने नै उल्लेख गरे ।

श्रेष्ठले कसैले बन्द गर्दैमा जनताको समर्थन् नठान्न भन्दै उद्योगी ब्यवसायीहरुले डर त्रासले मात्र बन्द गरेको पनि उल्लेख गरे ।

राज्यले सुरक्षाको प्रत्याभूती दिए उद्योग व्यवसाय सञ्चालन हुने उनले जिकिर गरे । बन्दले दैनिक २ अर्ब बढीको नोक्सानी हुने राष्ट्र बैंकको तथ्यांक रहेको भन्दै उनले बन्दकर्ताले बन्द गर्नु अघि दुई अर्व राज्यकोषमा जम्मा गर्नुपर्ने बताए ।

नेपाल यातायात ब्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाले बन्दको कारण यातायात क्षेत्रले सबैभन्दा बढी दैनिक १ अर्बको नोक्सानी बेहोर्ने दावी गरे । उनले प्रहरीले एस्र्कटिङ गरे आफूहरु सवारी साधान चलाउन तयार रहेको स्पष्ट पारे ।

प्रकाशित : ३२ श्रावण २०७२, सोमबार १४:३८