बिल गेट्सका १० भविष्यवाणी जो सत्य ठहरिए « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

प्रविधी

बिल गेट्सका १० भविष्यवाणी जो सत्य ठहरिए



gatesसन् १९९९ मा माइक्रोसफ्टका संस्थापक बिल गेट्सले बिजनेस एट दी स्पीड अफ थट नामक पुस्तक लेखेका थिए । उक्त किताबमा गेट्सले विभिन्न १५ वटा भविष्यवाणी गरे । गेट्सले उक्त समयमा गरेका ती हावादारी लाग्ने भविष्यवाणी उतिबेला सायदै मानिसहरुले पत्याए । गेट्सले देखेको भविष्य र गरेको भविष्यवाणी अरु सामान्य मानिसको कल्पना भन्दा बाहिरको कुरा थियो । तर उनले १६ वर्षअघि गरेका १० भविष्यवाणी अहिले सत्य सावित भएका छन् । उतिबेला कल्पना जस्तै लाग्ने कुराहरु अहिले हाम्रो दैनिकी बनेका छन् । के-के थिए त गेट्सका भविष्यवाणी ?

१. मूल्य तुलना गर्न सकिने वेबसाइट- गेट्सले आफ्नो पुस्तकमार्फत भविष्यमा अनलाइन मार्फत नै स्वचालित मूल्य तुलना सेवा विकशित हुने भविष्यवाणी ग्रेका थिए । जसका कारण मानिसहरुले फरक फरक वेबसाइटहरुमा आफुले खरीद गर्न चाहेको वस्तुको मूल्य हेर्न सक्ने र विभिन्न कम्पनीहरुले उत्पादन गरेका मध्ये सस्तो तथा आफुलाई मनपर्ने खालको प्रडक्ट छनोट गर्न सक्ने गेट्सको अनुमान थियो । अहिलेको अनलाइन सपिङले त्यसलाई यथार्थमा परिणत गरिदिएको छ ।

२. मोबाइल डिभाइस- बिल गेट्सले आफ्नो पुस्तकमा भविष्यमा मानिसहरु आफ्नो साथमा स-साना डिभाइसहरु लिएर हिँड्नेछन्ल र तिनै साना उपकरण मार्फत एक अर्कोसँग सम्पर्क गर्न सक्नेछन् र आफु भएकै ठाउँबाट इ बिजनेस गर्न सक्नेछन् भन्ने भविष्यवाणी गरेका थिए । साथै सोही सानो डिभाइसमा समाचार पढ्न सक्ने, आफुले बुक गरेको फ्लाइटको जानकारी लिन सक्ने तथा शेयर बजारको जानकारी समेत लिनसक्ने गेट्सको भविष्यवाणी थियो । अहिलेको स्मार्टफोनको युगमा यी सबै कुरा मात्र होइन, त्यो भन्दा पनि अझै अत्याधुनिक काम समेत गोजीमा अट्ने मोबाइलबाट सम्भव भैसकेको छ ।

३. इन्टरनेटको माध्यमबाट तुरुन्त भुक्तानी, अनलाइन फाइनान्सिङ तथा स्वास्थ्य सेवा- गेट्सले उतिबेला नै भनेका थिए की भविष्यमा मािनसहरु इन्टरनेट मार्फत नै आफ्नो बिल भुक्तानी गर्नेछन्, आफ्नो सम्पत्तिको हिसाब राख्नेछन् र आफ्नो डाक्टरसँग कुराकानी गर्न सक्नेछन् । अहिले यी सबैकुरा सम्भव भैसकेको छ ।

४. अनलाइन होम मनिटरिङ- बिल गेट्सले भविष्यमा घरहरु समेत स्मार्ट हुने र घरमा भिडियो फिड्स जडान हुने भविष्यवाणी गरेका थिए । अहिले ड्रपक्याम कम्पनीले होम सर्भिलेन्स क्यामरा निर्माण गर्ने गरेको छ । उक्त क्यामरा घरमा जडान गरेर निरन्तर निगरानी गर्ने काममा प्रयोग हुँदै आएको छ । अहिले उक्त कम्पनी गुगलको मातहतमा छ । घरमा यो क्यामरा जडानपछि आफु नभएको बेला दिउसो घरमा के भयो, को आयो ? भन्ने जस्ता कुराहरु क्यामरामा कैद हुन्छन् र घरायासी सुरक्षामा ठूलो मद्धत पुगेको छ ।

५. सोसल मिडिया- गेट्सले सन् १९९९ मै सोसल मिडियाको कल्पना गरेका थिए । उनका अनुसार भविष्यमा परिवार तथा साथीभाइहरुका लागि निजि वेबसाइटहरु सामान्य बन्दै जाने र त्यस्ता साइटहरुमा मानिसहरु च्याट गर्न तथा भविष्यका इभेन्टहरुको समेत योजन ागर्न सकिने कल्पना उनको थियो । फेसबुक, टि्वटर, इन्स्टाग्रँम जस्ता सोसल मिडिया सायद गेट्सकै कल्पनाको उपज हुन् ।

६. लाइभ स्पोर्ट संवाद वेबसाइट- गेट्सले भविष्यवाणी गरेका थिए की ज्ब तपाइँ कुनै टेलिभिजनमा खेलकुद प्रतियोगिता हेरिरहनुभएको हुनेछ तपाइँले वेबसाइट मार्फत लाइभ स्पोर्ट इभेन्टका विषयमा संवाद गर्न सक्नुहुनेछ साथै आफ्नो मनपर्ने खेलाडि तथा टीमका लागि भोट समेत गर्न सक्नुहुनेछ । अहिले इएसपिएन जस्ता विश्वस्तरीय खेल साइटहरुमा हुने रियल टाइम कमेन्ट्स तथा टि्वटर जस्ता सोसल मिडिया साइटहरुमा यो सबै सम्भव भएको छ ।

७. अनलाइन डिस्कसन बोर्ड तथा रुचीमा आधारित वेबसाइटहरु- गेट्सको भविष्वाणी थियो की विश्वका कतिपय सहर तथा देशका बासिन्दाहरुले स्थानीय राजनीति, सहरी योजना तथा सुरक्षा जस्ता विषयहरुमा इन्टरनेटमार्फत बहस पैरवी गर्नेछन् । अहिले धेरै न्यूज साइटहरुमा पाठकको लागि छुट्टाइने प्रतिक्रिया खण्डका साथै अनलाइन बहस फोरमबाट यो सम्भव भएकेा छ । सोसल साइटमार्फत मानिसहरुले अरब क्रान्तिका बेला व्यक्त गरेको धारणा र अरब क्रान्तिमा सोसल मिडियाहरुले पूराएकेा योगदान पनि यसको उदाहरण मान्न सकिन्छ । गेट्सले भविष्यवाणी गरेजस्तै अहिले विश्वमा असंख्य साइटहरु बनेका छन् जो अलग अलग रुचीका पाठकका लागि लक्षित छन् । व्यवसाय, खेलकुद, विज्ञान प्रविधि, स्वास्थ्य लगायतका क्षेत्रकै लागि लक्षित गरेर पनि विभिन्न चर्चित साइटहरु संचालनमा रहेका छन् ।

८. अनलाइन भर्ना- बिल गेट्सले सन् १९९९ मै भविष्यवाणी गरेका थिए की मानिसहरुले अनलाइन मार्फत जागिर खोज्न, जागिरका लागि परीक्षा दिन तथा छनोट भएर जागिर खान सक्नेछन् । अहिले विश्वमा बेरोजगारका लागि जागिर खोज्न सघाउने विभिन्न वेबसाइटहरु छन् । लिंक्ड इन नामक सोसल साइटमा मानिसहरुले आफ्नो बायोडाटा अपलोड गर्न सक्छन् र आफ्नो रुची तथा आवश्यकता अनुसारको जागिर खोज्न सक्छन् ।

९. बिजनेस कम्युनिटी सफ्टवेयर- बिल गेट्सले भविष्यवाणी गरेका थिए की कम्पनीहरुले आफ्नो आवश्यकता अनुसार रिक्वाएरमेन्ट सफ्टवेयर मार्फत सार्वजनिक गर्न सक्नेछन् चाहे निर्माण परियोजनाको आवश्यकता होस्, मूभी प्रडक्सन होस वा विज्ञापन अभियान होस् । साथै ठूला कम्पनीहरुले आफ्ना धेरै कामहरु आउटसोर्स गर्नेछन् र साना कम्पनीहरुले प्रसस्तै काम पाउनेछन् भने भविष्यवाणी उनकेा थियो । अहिले यो सम्भव भैसकेको छ । विभिन्न खाले व्यवासायिक सफ्टवेयरहरु तयार भैसकेका छन् र प्रयोगमा छन् ।

१०. स्मार्ट विज्ञापन- गेट्सको भविष्वाणी थियो की उपकरणहरुमा स्मार्ट एडभर्टाइजिङ हुनेछ । उपभोक्ताहरुले के चाहन्छन् भन्ने कुरा उत्पादकलाई थाहा हुनेछ र सोही मुताविक विज्ञापन प्रकाशित हुनेछ स्वचालित रुपमा । अहिले यो यथार्थमा बदलिएको छ । कैयन् अनलाइन विज्ञापन सेवा प्रदायकहरुले उपभोक्ताको व्इक्तिगत रुची, खरीदको तौरतरिका, आवश्यकता तथा क्षेत्रानुसार लक्षित रुपमा विज्ञापन देखाइदिन्छन् ।

प्रकाशित : ४ जेष्ठ २०७२, सोमबार ०२:४८