साझाका यात्रुले भाडा तिर्न पैसा बोक्नु नपर्ने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

साझाका यात्रुले भाडा तिर्न पैसा बोक्नु नपर्ने



 काठमाडौं । आज देखि साझा बसमा यात्रा गर्ने यात्रुले भाडातिर्न पैसा बोक्नुनपर्ने भएको छ । साझाबसले आज अर्थात भदौ १ देखि लागु हुनेगरी ईकार्ड सेवा सुरु गरेसंगै यात्रुले संधै यात्रा गर्दाको अवधिमा सहचालकसंग भाडाका विषयमा किचकिच गर्नुपर्ने झन्झटबाट समेत मुक्त हुने भएका छन् ।


बसभाडा तिर्नका लागि यात्रुले खल्तीमा नगद पैसा बोक्नु नपर्ने भएपनि यसका लागि पहिले १ सय ५० रुपैयाँको डिजिटल कार्ड भने किन्नुपर्ने छ। सो कार्डबाटै भाडा तिर्नुपर्ने नियम साझा यातायातले बनाउने तयारी गरेको छ।यात्रुले एटिएम कार्ड जस्तै आकारको ई–कार्ड शुरुमा १५० रुपैयाँ तिरेर खरिद गर्नुपर्छ र त्यसमा आफूले चाहेजति रकम ब्यालेन्स गर्न सकिन्छ ।
साझा यातायातमा चढेपछि यात्रुले गाडीको पछाडि ढोकामा राखिएको डिभाइसमा कार्ड देखाएपछि उक्त डिभाइसले शुरुमा संस्थाले तोकेको पूरै भाडा कटाउँछ र यात्रुले आफ्नो गन्तव्यमा पुगेर झर्दा  अघिल्लो ढोकामा राखिएको डिभाइसमा पुनः कार्ड देखाएपछि सोही दूरीको भाडा कटाएर बाँकी रकम फिर्ता गर्छ । यात्रुले कार्ड नदेखाई ओर्लिएमा भने पैसा फिर्ता हुँदैन । कार्डबाट अधिकतम भाडा २० रुपैयाँ काटिनेछ। विद्यार्थीहरुका लागि पनि यो कार्डबाटै आधा छुट हुनेगरी भुक्तानीको व्यवस्था हुनेछ।

नेपालमै पहिलो पटक यस्तो व्यवस्था थालनी गर्न लागेको साझाले यदि यसको परीक्षण सफल भई कार्यान्वयनमा आएमा यातायातको दुरीअनुसारको भाडामा एकरुपता आउने तथा यात्रु पनि ठगिनबाट जोगिने छन्। यसले नियमित यात्रुहरुका लागि झनै फाइदा पुग्ने देखिन्छ।

नेपाल बैंकको सहकार्यमा यस्तो डिजिटल कार्ड प्रयोगमा ल्याउन लागिएको साझा यातायातका कायम मुकायम प्रमुख कार्यकारी अधिकृत महेन्द्रराज पाण्डेले जानकारी दिए ।हाल काठमाडौं उपत्यकामा २ रुटमा १६ वटा साझा यातायातका बसहरु सञ्चालनमा छन्।

प्रकाशित : १ भाद्र २०७२, मंगलवार ०९:४८