मेलम्ची खानेपानीमा सोचेजति प्रगति भएनः मन्त्री खड्का « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

मेलम्ची खानेपानीमा सोचेजति प्रगति भएनः मन्त्री खड्का



काठमाडौं । सहरी विकास मन्त्री डा नारायण खड्काले सहरी क्षेत्रको पूर्वाधार विकासका लागि सरकारले वैज्ञानिक र वस्तुनिष्ठ योजनाका साथ नीति तथा कार्यक्रम अगाडि सारेको बताएका छन् ।

व्यवस्थापिका-संसद्को आजको बैठकमा विनियोजन विधेयक, २०७२ अन्तर्गत सहरी विकास मन्त्रालयका सम्बन्धमा सांसदहरुले उठाएकाे प्रश्नको जवाफ दिँदै उनले कतिपय आयोजनामा सोचेजति बजेट उपलब्ध हुन नसक्दा जनअपेक्षाअनुसार भौतिक पूर्वाधार विकासको काम अगाडि बढ्न नसकेको बताए ।

 

तराई मधेसका विभिन्न जिल्लामा खानेपानीमा आर्सेनिकको मात्रा बढी पाइएकाले वैकल्पिक उपाय अवलम्बन गरी नियन्त्रण गर्न सार्वजनिक, निजी साझेदारीमा अभियानात्मक रुपमा कार्यक्रम अगाडि बढाइएको उनको कथन थियो ।

निर्माणाधीन आयोजनालाई छिटोभन्दा छिटो सम्पन्न गर्न सरोकार भएका निकायलाई जिम्मेवार बनाइएको र कमसल काम गर्ने निर्माण व्यवसायीलाई कानुनी कारबाही गरिने जानकारी दिँदै मन्त्री खड्काले मेलम्ची खानेपानीको निर्माणको काम सोचेजति अगाडि बढ्न नसकेको स्वीकार गरे ।

हालसम्म सो परियोजनाको सुरुङ निर्माण कार्य ४८ प्रतिशत सम्पन्न भएको जानकारी दिँदै उनले साप्ताहिक रुपमा प्रगति विवरण सार्वजनिक गरिने गरिएको र आगामी दिनमा दैनिक रुपमा नै प्रगति सार्वजनिक गरिने बताए ।

तराई मधेसका ग्रामीण बस्तीमा स्यालो ट्युबवेल, डिप ट्युबवेल जडान गरी खानेपानी समस्या समाधान गरिने र सन् २०१७ सम्म मुलुकलाई खुला दिसामुक्त राष्ट्र घोषणा गरिने उनले सदनलाई जानकारी दिए । यस्तै सन् २०१७ मा सबै जनतालाई स्वच्छ खानेपानी सुविधा उपलब्ध गराउने लक्ष्य पूरा गरिने उनको भनाइ थियो ।

प्रकाशित : ६ भाद्र २०७२, आईतवार ११:५८