पुँजी होइन, प्रविधि र नयाँ सोचको खाँचो छः चौधरी « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

पुँजी होइन, प्रविधि र नयाँ सोचको खाँचो छः चौधरी



काठमाडौं । प्रविधिको क्षेत्रमा भैरहेको तिव्र विश्वव्यापी परिवर्तनको यो समयमा व्यवसायको स्थापना र सफलताका लागि पुँजी आवश्यक नरहेको बरु प्रविधिमा आधारित नयाँ सोच र उद्यमशीलताको खाँचो भएको चौधरी समूहका अध्यक्ष विनोद चौधरीले बताएका छन् ।

विराटनगरमा तेरापंथ युवा फोरमको आयोजनामा सम्पन्न अन्तर्राष्ट्रिय सम्मेलनमा प्रमुख अतिथि र किनोट स्पीकरका रुपमा बोल्दै अध्यक्ष चौधरीले उक्त कुरा बताए ।

अहिलेको समय नयाँ सोच र उद्यमशीलताको रहेको बताउँदै अध्यक्ष चौधरीले पुँजीका कारण कसैले व्यवसाय गर्नबाट वञ्चित हुने नपर्ने समय आएको बताए ।
‘२० वर्ष अगाडिको विश्वलाई हेर्ने हो भने धेरै पुँजी चाहिने उद्योगहरुको बोलबाला थियो । हाम्रै नेपाललगायत दक्षिण एशियाली क्षेत्रमा हेर्ने हो भने जुट, टेक्सटायल, स्टील र चिनीजस्ता पुँजीप्रधान उद्योगहरुमा प्रशस्तै सम्भावना थियो’ चौधरीले भने( ‘तर अहिलेको समय सूचना प्रविधि र संचारजस्ता प्रविधिमा आधारित उद्योगको हो, जसमा पुँजी नभएपनि हुन्छ । चाहिन्छ त केबल एक नयाँ सोच, उत्साह र उद्यमशीलता ।”

‘तपाईंहरुलाई मैले भनिरहनु पर्दैन कि अहिलेको समय गुगल र फेसबुकको हो, एप्पल र सामसुङजस्ता स्मार्टफोनको हो, र अमेजन र अलिबाबाजस्ता इन्टरनेट व्यवसायको हो’ उनले भने ।

भावी पुस्ताको लागि व्यावसायिक मार्गदर्शन विषयमा केन्द्रित रहँदै चौधरीले व्यवसायमा सफलताका लागि विश्वबजारमा आइरहेको परिवर्तनलाई तत्काल बुझ्नुपर्ने, प्रतिदिन उपभोक्तको चाहना बुझ्न सक्नुपर्ने र सोअनुरुप तत्काल कदम चाल्न सक्नुपर्ने बताए ।

चौधरीले भने( ‘प्रविधिको विकाससँग आफूलाई आत्मसात गर्न नसक्ने हो र बजारको भावना नबुझी आफ्नै ढर्रामा चल्ने हो भने ब्याकबेरी र नोकियाको जस्तै हालत हुन्छ । तपाईंहरुलाई थाहै छ, कुनै दिन थियो जब ब्लाकबेरी र नोकियाले स्मार्टफोनको बजारमा राज गरेका थिए । तर अहिले हेर्नुस् उनीहरु कहाँ छन् ।’

जैन धर्मावलम्बीअन्तर्गत श्वेताम्वर तेरापंथ परम्पराका प्रमुख आचार्य श्री महाश्रमणजीको सान्निध्यमा आयोजित उक्त कार्यक्रममा अध्यक्ष चौधरीले व्यवसाय र आध्यात्मिकताको अन्न्योन्याश्रति सम्बन्ध रहेको कुरा बताए ।

“अध्यात्मविनाको मानव जीवन सुगन्धविनाको फूलजस्तै हो । आजकल प्रविधिको विकासले गर्दा नक्कली फूलहरु पाइन्छ । ती देख्दा सक्कली फूलजस्तै देखिन्छन्, तर तिनमा सुगन्ध हुँदैन । बिनासुगन्धको फूलको अर्थ नभएजस्तै अध्यात्मविनाको जीवनको अर्थ हुँदैन ।”

अध्यात्म र व्यवसायको सम्बन्ध बुझाउन दुरुस्त मिल्ने कपडा सिलाउने कुराको उदाहरण दिँदै चौधरीले भने( ‘तपाईंसँग एउटा राम्रो कपडाको टुक्रा छ, त्यसलाई राम्रो सुहाउने गरी सिलाउन चाहनुहुन्छ भने त्यसमा दुइवटा कुरा हुन्छन् । ‘

‘पहिलो, कपडालाई राम्ररी काट्नुपर्छ, जुन व्यवसायको काम हो । दोश्रो, काटेको कपडालाई मिलाएर सिलाउनुपर्छ, जुन अध्यात्मको काम हो । दुवैलाई सँगै लग्यो भने मात्र तपाईंले खोजेजस्तो र सुहाउने कपडा तयार हुन सक्छ । दुवैको सम्मिलनले मात्र जीवन सार्थक हुन सक्छ’ उनको भनाई थियो ।

कार्यक्रममा नेपाल, भारत, सिंगापुर र दुवईबाट आएका युवा डाक्टर, इन्जिनियर, चार्टर्ड एकाउन्टेन्टलगायतका विभिन्न ४०० पेशाकर्मीको उपस्थिति थियो ।

प्रकाशित : ६ भाद्र २०७२, आईतवार १२:०६