अध्यादेशमा देखिएको विवाद समाधान गरेर अघि बढ्नराष्ट्रपतिको आग्रह « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

अध्यादेशमा देखिएको विवाद समाधान गरेर अघि बढ्नराष्ट्रपतिको आग्रह



काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रिय सभाको निर्वाचनसम्बन्धि अध्यादेशमा देखिएको विवाद समाधान गरेर अघि बढ्न एमाले र माओवादीका अध्यक्षसँग आग्रह गरेकी छिन् ।

बुधबार बिहान करिब दुई घण्टा लामो छलफलमा राष्ट्रपति भण्डारीले अध्यादेशमा देखिएको विवाद तत्काल समाधान गर्नेगरी अघिबढ्न एमाले अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग आग्रह गरेकी हुन् ।

राष्ट्रपतिका मुख्य स्वकीय सचिव भेषराज अधिकारीले दिएको जानकारी अनुसार राष्ट्रिय सभाको निर्वाचनसम्बन्धि अध्यादेश अघि बढन नसक्दा सरकार गठन प्रक्रियामा समेत ढिलाई हुनेतर्फ राष्ट्रपति भण्डारीले नेताहरुलाई ध्यानाकर्षण गराएकी थिइन् ।

राष्ट्रियसभाको निर्वाचनसम्बन्धी अध्यादेशमा दलहरुबीच विवाद भएपछि राष्ट्रिपति भण्डारीले केही दिन अघि प्रधानमन्त्री शेरबहादुर देउवासँग पनि छलफल गरेकी थिइन् ।

छलफलमा प्रधानमन्त्री देउवाले अध्यादेश तत्काल प्रमाणीकरण गर्न आग्रह गरेका थिए । तर एमालेले एकल संक्रमणीय व्यवस्था संविधान विपरित भएका कारण राष्ट्रपतिले स्विकृत गर्न नहुने अडान राख्दै आएको छ । जसका कारण निर्वाचन आयोगले अन्तिम मतपरिणाम सार्वजनिक गर्न सकेको छैन भने सरकार गठनमा समेत ढिलाइ हुने देखिएको छ ।

प्रकाशित : ५ पुष २०७४, बुधबार १२:५५