आर्थिक क्रान्तिका लागि सहकारी संस्थाको भूमिका महत्वपूर्णःउपराष्ट्रपति « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

आर्थिक क्रान्तिका लागि सहकारी संस्थाको भूमिका महत्वपूर्णःउपराष्ट्रपति



काठमाडौं  । उपराष्ट्रपति नन्दबहादुर पुनले मुलुकको आर्थिक क्रान्तिका लागि सहकारी संस्थाको भूमिका महत्वपूर्ण भएको बताएका छन् । राष्ट्रिय सहकारी बैंकको १४ औं वार्षिक साधारणसभाको बिहीवार राजधानीमा उद्घाटन गर्दै उपराष्ट्रपति पुनले राजनीतिक क्रान्ति सकिएर मुलुक अब आर्थिक क्रान्तितर्फ अग्रसर भएको भन्दै आर्थिक क्रान्तिमा सहकारी क्षेत्रमो भूमिका महत्वपूर्ण भएको बताए । उनले जनतालाई आर्थिक रुपमा सम्पन्न गराउनका लागि सहकारी क्षेत्रको प्रभावकारितामा ध्यान दिन आग्रह गरे ।

सहकारीहरुको प्रवद्र्धनका लागि स्थापित भएको सहकारी बैंकले देशका कुना कुनामा शाखामार्फत् जनतालाई सेवा दिने प्रयत्न गरेको भन्दै उपराष्ट्रपति पुनले राज्यले सहकारीमार्फत् परिचालन गर्ने बजेट सहकारी बैंकमार्फत् परिचालन गर्न सके अझै प्रभावकारीता बढ्ने बताए ।

कार्यक्रममा राष्ट्रिय सहकारी महासंघका अध्यक्ष केशब बडालले देशमा विद्यमान गरिबी न्यूनीकरण नहुनुमा कसको कमजारी छ ? भन्ने खोजेर सहकारी क्षेत्रले गरिबी निवारणका कार्यक्रम अगाडि ल्याउन आह्वान गरे ।

त्यस्तै नेपाल राष्ट्र बैंकका पूर्वगर्भनर डा. युवराज खतिवडाले सहकारी ऐनसँंगै सहकारी बैकलाई स्पष्ट नीतिका साथ अगाडि बढ्ने वातावरण आवश्यक रहेको बताए ।

कार्यक्रममा सांसदहरु पशुपति चौलागाई र घनश्याम खतिवडा, अन्तर्राष्ट्रिय सहकारी महासंघका ग्लोबल सदस्य ओमदेवी मल्ल, राष्ट्रिय सहकारी विकास बोर्डका सहअध्यक्ष दक्ष पौडेल, राष्ट्रिय सहकारी महासंघका पूर्व अध्यक्ष दीपकप्रकाश बाँस्कोटा, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव गोपीनाथ मैनाली, गरिबी निवारण कोषका कार्यकारी निर्देशक नहकुल केसीलगायतको उपस्थिति रहेको थियो ।

साधारणसभाबाट राष्ट्रिय सहकारी बैंकले आर्थिक वर्ष २०७३÷७४ को कारोबारबाट आफ्ना शेयर सदस्य सहकारी संघ संस्थालाई १४ प्रतिशत मुनाफा प्रदान गर्ने प्रस्ताव पारित गरेको छ । साधारणसभामा अध्यक्ष रमेश पोखरेलले प्रगति प्रतिवेदन, प्रबन्ध सञ्चालक केबी उप्रेतीले नीति, कार्यक्रम तथा आर्थिक प्रतिवेदन र लेखा समितिका संयोजक कुलचन्द्र अधिकारीले लेखा समितिको प्रतिवेदन प्रस्तुत गरेका थिए ।

प्रकाशित : ७ पुष २०७४, शुक्रबार ११:१०