प्रधानमन्त्री र कर्मचारीको विदेश भ्रमणमा राज्यकोषको करिब ६ करोड स्वाहा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

प्रधानमन्त्री र कर्मचारीको विदेश भ्रमणमा राज्यकोषको करिब ६ करोड स्वाहा



काठमाडाै । आर्थिक वर्षको पहिलो चार महिनामा प्रधानमन्त्री र कर्मचारीको विदेश भ्रमणमा राज्यकोषको करिब ६ करोड खर्च भएको छ । अर्थ मन्त्रालयका अनुसार चार महिनामा पाँच करोड ९३ लाख सकिएको छ ।

गत आवमा विदेश भ्रमणमा एक अर्ब भन्दा बढी खर्च भएको थियो । विदेश भ्रमणमा अस्वाभाविक खर्च बढेपछि सरकारको आलोचना भएको थियो । अर्थ मन्त्रालयले चालू आव ०७४,७५ मा विदेश भ्रमणमा कडाइ गर्ने बताए पनि खर्च गर्ने क्रम रोकिएको छैन ।

निर्वाचन आयोगले आचारसंहिता जारी गरी अत्यावश्यक बाहेकका विदेश भ्रमणमा रोक लगाएकै समयमा ६ करोड सकिएको विवरण अर्थ मन्त्रालयले सार्वजनिक गरेको हो ।

मन्त्रालयले यो खर्चमा प्रधानमन्त्री शेरबहादुर देउवाको संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन जाँदाको खर्च जोडे पनि उनले ७ भदौमा गरेको भारत भ्रमणको खर्च समावेश नगरेको जनाएको छ । विदेश भ्रमण शीर्षकमा भएका खर्चमा दैनिक भ्रमण भत्ता र हवाई टिकट मात्र जोडिएको छ । अन्य शीर्षकमा भएको खर्च भने मन्त्रालयले सार्वजनिक गरेको छैन ।

पछिल्लो समय राज्यको हितमा भन्दा निजामती कर्मचारीले रमाइलोका लागि विदेश भ्रमण गर्ने गरेको पूर्वमुख्यसचिव राजेन्द्रकिशोर क्षेत्रीको आरोप छ । चार महिनामा विदेश भ्रमण भत्ता र हवाई टिकटमा मात्र करिब ६ करोड सकिनु अस्वाभाविक भएको उनले बताए । यस्ता भ्रमणबाट कुनै व्यक्तिले फाइदा लिन सक्ने भए पनि राज्यलाई कुनै उपलब्धि हासिल नहुने क्षेत्रीको भनार्इ छ ।
नयाँपत्रिकाबाट

प्रकाशित : ११ पुष २०७४, मंगलवार १०:४०