सेयर कारोबारमा पनि भ्याट लाग्ने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

सेयर कारोबारमा पनि भ्याट लाग्ने



काठमाडौं । सरकारले सेयर कारोबारमा मूल्य अभिवृद्धि कर (भ्याट) लगाउने भएको छ । मुलुकमा भ्याट कार्यान्वयनमा आएको १८ वर्षपछि सेयर कारोबारमा भ्याट लगाउन कसरत गरिएको हो ।

भ्याट लगाउन कर कार्यालयले सेयर ब्रोकरलाई एक साताको समय दिएर अनिवार्यरूपमा दर्ता हुन पत्र काटेको छ। ब्रोकर दर्ता भएपछि लगानीकर्तासँग भ्याट असुलिनेछ। भ्याटको भार अन्तिममा उपभोक्तामा पुग्छ । कर कार्यालयको निर्देशनअनुसार भ्याट कार्यान्वयन भएमा सेयर कारोबारीले हाल तिर्दै आएको बाहेक १३ प्रतिशत थप कर तिर्नुपर्ने हुन्छ ।

कारोबारमा लगाइने भएकाले सेयर किन्दा र बिक्री गर्दा दुवैपटक भ्याट तिर्नुपर्छ । खरिदबिक्री गर्दा एक जना लगानीकर्ताले भ्याटबापतमात्रै २६ प्रतिशत कर तिर्नुपर्ने हुन्छ ।  यद्दपि, कसरी कार्यान्वयन गरिने भनेर मोडालिटी बनिसकेको छैन ।

यसबाहेक ब्रोकर कमिसन, धितोपत्र बोर्ड ९सेबोन० कमिसन समेत गरी खरिदबिक्रीको जोड्दा थप तीन प्रतिशत कर तिर्नुपर्छ । सबै गर्दा लगानीकर्ताले तिर्न आउने कुल कर २९ प्रतिशत हाराहारीमा पर्न आउँछ । करको यो प्रतिशत अन्य क्षेत्रको तुलनामा निकै धेरै हो ।

अहिले एउटा कारोबारमा लगानीकर्ताले ब्रोकर कमिसन ०।७ प्रतिशतदेखि एक प्रतिशतसम्म र सेबोन कमिसन ०.०१५ प्रतिशत तिर्नुपर्छ । यसबाहेक नाफामा बिक्री गर्दा व्यक्तिले पाँच प्रतिशत र संस्थाले १० प्रतिशत पुँजीगत लाभकर बापत थप शुल्क तिर्नुपर्छ । लाभांशमा टीडीएस समेत लाग्ने व्यवस्था छ ।

मूल्य अभिवृद्धि कर लागू भएको १८ वर्षसम्म कार्यान्वयन नहुनु र अहिले बिनाअध्ययन एकाएक तुरुन्त लागू गर्न निर्देशन आएपछि ब्रोकरहरू के गर्ने भनेर अन्योलमा परेका छन् ।

नेपालमा २०५४ देखि भ्याट लागू गरिएको हो। सरकारले मूल्य अभिवृद्धि कर ऐनको अनुसूची १ को ’क’ मा भ्याट नलाग्ने वस्तु तथा सेवा उल्लेख छ। तर, यो अनुसूचीमा धितोपत्र कारोबारको कर नलाग्ने भनेर उल्लेख नगरिएकाले सोही अनुसूचीलाई आधार बनाएर कर कार्यालयले ब्रोकरलाई पत्र काटेको हो ।

सम्बद्ध स्रोतका अनुसार कर सेवा कार्यालय पुतलीसडकले भदौ ११ गते ब्रोकरलाई पत्र काटेर एक साताभित्र भ्याटमा दर्ता हुन आउन निर्देशन दिइसकेको छ । अधिकांश ब्रोकर यही कार्यालय अन्तर्गत पर्छन् । अन्य कर कार्यालयले पनि पत्र पठाउने तयारी गरेका छन् ।

ब्रोकर भ्याटमा दर्ता भए पनि यसको भार भने लगानीकर्तामा नै पर्छ  । अन्तिम उपभोक्ता वा सेवाग्राहीले नै भ्याटबापतको शुल्क तिर्नुपर्ने हुन्छ । कर सेवा कार्यालय पुतलीसडकका प्रमुख दुर्गादत्त भण्डारीले ब्रोकरलाई भ्याटमा दर्ता हुन पत्र काटेको पुष्टि गरे ।

’मूल्य अभिवृद्धि कर ऐनले धितोपत्र कारोबारमा कर छुटको व्यवस्था गरेको छैन । त्यही भएर भ्याट कार्यान्वयन गर्न निर्देशन दिएका हौं,’ उनले भने । भ्याट अन्तिममा उपभोक्तामा जोडिने भएकाले सेयरमा पनि जसले किनबेच गर्छ, अन्तिममा उसैले तिर्नुपर्ने उनले बताए ।

ब्रोकर भने कर कार्यालयले पत्र काटेपछि के गर्ने भनेर अन्योलमा छन् । कर कार्यालयले पत्र काटे पनि अहिलेसम्म कोही पनि दर्ता हुन गएका छैनन् । स्रोतका अनुसार ब्रोकरले छलफल अघि बढाएको आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर छापिएको छ ।

प्रकाशित : २० भाद्र २०७२, आईतवार ०४:२०