सेयर बजार उचाल्ने र पछार्ने खेल कायमै « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

सेयर बजार उचाल्ने र पछार्ने खेल कायमै



काठमाडाै । केही सातादेखि सेयर बजारमा जारी गिरावट आज बिहीबार पनि कायमै रह्यो । सेयर बजार परिसुचक नेप्से आज १० दशमलव ७३ अंकले झरेर एक हजार ४१४ दशमलव ७८ अंक कायम भएको छ । कारोबार रकममा निकै सुधार हुँदै गए पनि नेप्से बढ्न नसक्दा विशेषगरी सर्वसाधारण लगानीकर्ता निराश हुँदै गएका छन् ।

बुधबार ७४ करोडले भएको सेयर किनबेच आज बढेर ८१ करोड पुगेको छ भने अघिल्ला दिनहरुमा ओरालो लागेको व्यापार समूहका कम्पनीहरुको सेयरमा उत्साहजनक वृद्धि भएको छ । सेयर बजारमा आएको गिरावटको प्रमुख कारण गलत हल्ला भएको विश्लेषकहरुको भनाई छ । विदेशी लगानीको दूरसञ्चार सेवा प्रदायक एनसेलले नाफा लैजाने, वामपन्थी दलहरुको सरकारले लिने आर्थिक नीतिले सेयर बजार प्रभावित हुने जस्ता हल्लाका कारण सेयर बजारमा नकारात्मक प्रभाव परेको उनीहरुको भनाई छ ।

कतिपयले भने चुनावमा खर्च गरिएको ठूलो रकम जनताको हातबाट बैंकिङ प्रणालीमा नआइपुगेका कारण तरलता संकुचन देखा परेको र सोही कारण ब्याजदरहरुमा समेत वृद्धि हुँदा त्यसको असर सेयर बजारमा परेको बताउँछन् । वामअर्थतन्त्रप्रति सिर्जित आशंका र बजार हल्लाले गर्दा लगानीकर्ता पर्ख र हेरको स्थितिमा बस्न बाध्य भएका छन् भने बजारलाई स्थिर राख्न भूमिका खेल्नुपर्ने संस्थागत लगानीतर्काहरु बजार अझै घटे सोही मौकामा लगानी गर्ने असरको पर्खाइ छन् ।

आज व्यापार समूहको उपसुचक साढे दुई प्रतिशतभन्दा बढिले बढे पनि अन्य र होटल समूहमा भने सामान्य वृद्धि भएको छ । बाँकी सबै समूहको उपसुचक ओरालो लागेको छ । अघिल्ला दिनहरुमा जस्तै स्टाण्र्डर्ड चाटर्ड बैंकको कारोबार आज उच्च रह्यो । उक्त बैंकको एक्लै २२ करोड ८० लाखको सेयर किनबेच भएको छ ।

प्रकाशित : १३ पुष २०७४, बिहीबार १७:०६