स्थानीय तहमा बैंकको शाखा अनिवार्य « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

स्थानीय तहमा बैंकको शाखा अनिवार्य



इटहरी । नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर शिवराज श्रेष्ठले चाँडै हरेक स्थानीय तहमा बैंकको शाखा अनिवार्य रुपमा पुग्ने बताएका छन् । मिडिया इन्टरनेसलद्वारा शुक्रबारदेखि सुनसरीको इटहरीमा शुरु भएको बैंक/बीमा एक्स्पोको उद्घाटन गर्दै डेपुटी गभर्नर श्रेष्ठले सबै स्थानीय तहमा बैंक तथा वित्तीय संस्थाको शाखा पुग्ने बताएका हुन् । सरकारी कारोबारका लागि पनि हरेक गाउँपालिका र नगरपालिकामा बैंकको शाखा आवश्यक रहेको औँल्याउँदै उनले भने, ‘समृद्धिका लागि पनि यो महत्वपूर्ण हुनेछ ।’

 

कार्यक्रममा गरिमा विकास बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द ढकालले बैंकलाई बुझ्न सक्नेले धेरै फाइदा लिन सक्ने बताए । बैंक र पैसाको महत्व तथा उपयोगिताबारे जान्नेले समुन्नत जीवन जिउन विदेशिनु पर्दैन,’ उनले भने, ‘इच्छाशक्ति, जाँगर र भिजन भएकालाई बैंकले बिनाधितो पनि कर्जा दिन्छन् ।’

प्रभु ग्रुपकी उपअध्यक्ष तथा प्रभु इन्स्योरेन्सकी अध्यक्ष कुसुम लामाले आफ्नो सम्पत्ति सुरक्षणका लागि बीमाबारे पनि जानकार हुन आवश्यक रहेको बताइन् । ‘पैसा, कारोबार, बैंकसँगै बीमाबारे पनि जान्नु महत्वपूर्ण हुन्छ,’ उनले भनिन्, ‘बीमा गर्दाका फाइदाहरु थुप्रै भएकाले यसको पहुँचभित्र हामीले बस्नुपर्छ ।’

इटहरी उद्योग वाणिज्य संघका कार्यवाहक अध्यक्ष शैलेस बिष्टले बैंकले आफ्नो सेवालाई सरल र सहज बनाउनाको साथै ग्राहकलाई आफ्नो सेवा र सुविधाबारे जानकारी गराउनुपर्नेमा जोड दिए । साथै बैंकले व्यवसायीसँग पनि प्रभावकारी समन्वय गनुपर्नेमा उनको जोड थियो ।

पूर्वाञ्चलमै पहिलो पटक इटहरीमा सुरु भएको बैंकिङ एक्स्पो आइतबारसम्म चल्ने छ । एक्स्पोमा बैंक तथा वित्तीय संस्थाका ३७ वटा जानकारी मुलक स्टल राखिएको आयोजकले बताएको छ । शनिबार लघुवित्त र आइतबार बीमा विशेष कार्यक्रम हुने एक्स्पो कुनै व्यवसायिक प्रयोजनका लागि नभएर वित्तीय साक्षरता कार्यक्रम अन्तर्गतकै भएको एक्स्पो संयोजक माधव निर्दोषले बताए ।

कार्यक्रममा पूर्वाञ्चलका बैंक तथा वित्तीय संस्थाका प्रतिनिधि, नेपाल राष्ट्र बैंक विराटनगरका व्यवस्थापक, विद्यार्थी, समाजिक कार्यकर्ता, उद्यमशीलतामा लागेका व्यक्ति लगायतको उपस्थिति रहेको थियो ।

प्रकाशित : १४ पुष २०७४, शुक्रबार २०:३२