धोबीखोलाको पानी पिउनयोग्य बनाउने कुसुमको प्रतिबद्धता « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

धोबीखोलाको पानी पिउनयोग्य बनाउने कुसुमको प्रतिबद्धता



काठमाडाै । नवनिर्वाचित प्रदेशसभा सदस्य कुसुमकुमार कार्कीले रुद्रमती अर्थात् धोबीखोलाको पानी पिउन र नुहाउनयोग्य बनाउन आफूले पहल गर्ने बताएका छन् ।

बूढानीलकण्ठ नगरपालिका–१०, कपनस्थित नीलोपुलका बासिन्दासँग बुधबार भेटघाट कार्यक्रममा उनले त्यसका लागि प्रशोधन कारखाना राख्न जग्गा खोजी प्रक्रिया अगाडि बढाइने जानकारी दिए ।

काठमाडौँ निर्वाचन क्षेत्र ४(ख)बाट निर्वाचित सदस्य कार्कीले नीलोपुल क्षेत्रमा सुरक्षाका लागि सिसिटिभी क्यामरा राख्न तथा स्थानीयको आयआर्जन र रोजगारीका साथै जैविक वस्तुको उपभोग गर्न गराउन आफ्नो सहयोग रहने स्पष्ट पारे ।

आफ्नो क्षेत्रको विकासका लागि छिट्टै शिक्षा, स्वास्थ्य, कृषि, पर्यटनलगायत विषयका विज्ञहरुको छुट्टाछुट्टै समूह बनाई क्रियाशील गराइने, स्थानीय तहका समस्या समाधान र विकासका लागि सोही तह (बूढानीलकण्ठ नगरपालिका)सँग आफूले समन्वय गर्ने आश्वासन पनि उनले दिए ।

नीलोपुल टोल सुधार समितिका अध्यक्ष रामजी खड्का तथा बुद्धिजीवी सुरेश निरौला, थरेन्द्र बराल, सञ्जीव लामा, भगवती गिरीलगायतले नीलोपुलको सुधार, सुरक्षा र पानीको समस्याबारे प्रदेश सदस्य कार्कीलाई अवगत गराए ।

प्रकाशित : १७ पुष २०७४, सोमबार १४:१७