विभिन्न समस्या देखाउँदै मिल्क होलिडे गर्न थालेपछि किसान मर्कामा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

विभिन्न समस्या देखाउँदै मिल्क होलिडे गर्न थालेपछि किसान मर्कामा



इलाम  । दुग्ध विकास आयोजना विराटनगरले विभिन्न समस्या देखाउँदै मिल्क होलिडे गर्न थालेपछि किसान मर्कामा परेका छन् ।

उत्पादित दुग्ध उत्पादक वस्तुले उचित बजार नपाउँदा आयोजनाले घोषितरुपमै भदौ १७ गतेदेखि हप्ताको बिहीबार, शुक्रबार र शनिबारका दिन मिल्क होलिडे गर्न थालेपछि किसान मर्कामा परेका हुन् । आयोजानाले दूध किसानलाई पत्राचार नै गरेर होलिडे गर्न थालेको इलामको बिव्ल्याँटे दूध चिस्यान केन्द्रका प्रमुख गोपालबहादुर खड्काले जानकारी दिए ।

उनका अनुसार विभिन्न दुग्ध सहकारीमार्फत दैनिकरुपमा चार हजार ५ सय लिटर दूध सङ्कलन हुँदै आएको थियो तर उत्पादित दूधका परिवारले बजार नपाउँदा अहिले केही समयका लागि सातामा तीन दिन होलिडे गर्नुपरेको हो । विशेष गरी भूकम्पका कारण यहाँ उत्पादित दूधजन्य वस्तुले बजार पाउन छोडेपछि होलिडे गर्नुपरेको उनले बताए । यसअघि लगातारको बन्द, हडतालका कारणसमेत दूध ढुवानीमा समस्या आएको आयोजनाका प्रमुख खड्काको भनाइ छ ।

हाल इलामको बरवोटेस्थित बिव्याँटे चिस्यान केन्द्र, कोल्बोङको कुटिडाँडा, लक्ष्मीपुर, फिक्कल, तीनघरे, पुवाखोला, शान्तिडाँडा तथा पाँचथरको देउराली गरी जम्मा मेची अञ्चलमा सात वटा चिस्यान केन्द्रबाट दैनिक ४० हजारदेखि ४५ हजार लिटरसम्म दूध विराटनगर आयोजनाले लिँदै आएको छ । मुख्य दूध उत्पादन हुने सिजनमा मिल्क होलिडे हुन थालेपछि इलामका कृषक मारमा परेका छन् । बर्खायाममा हरियो घाँस र पोसिलो आहारा खुवाएसँगै दूध वृद्धि भए पनि दूध नै बिक्री नहुँदा कृषक मार परिरहेको बरवोटका किसान ख्यामराज आचार्यको भनाइ छ ।

उत्पादित वस्तु बिक्री नहुँदा अहिले विराटनगरस्थित डिडिसीको गोदाममा दूध पाउडर, चिज लगायतका वस्तु ९ सय मेट्रिक टन तथा घिउ ६ सय मेट्रिक टनको हाराहारीमा थन्किएको छ ।

प्रकाशित : २२ भाद्र २०७२, मंगलवार १२:२०