सानिमाकाे प्रतिशेयर आम्दानी घट्यो « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

सानिमाकाे प्रतिशेयर आम्दानी घट्यो



काठमाण्डौ । चुक्तापूँजीमा भएको वृद्धि अनुसारको व्यवसाय बिस्तार गरेर उल्लेख्य आम्दानी बढाउन नसक्दा सानिमा बैंक लिमीटेडको चालु आर्थिक वर्षको दोश्रो त्रैमासमा खूद नाफा बढे पनि प्रतिसेयर आम्दानी(इपीएस) भने घटेको छ ।

यो बैंकले आइतबार दोश्रो त्रैमासको अपरिस्कृत वित्तीय विवरण सार्वजनिक गरेको हो । जसमा नाफा गत वर्षको यही अवधिको तुलनामा २० करोडभन्दा केही बढीले वृद्धि भएको देखिएको छ भने बैंकले प्रतिसेयर आम्दानीलाई भने नियन्त्रणमा राख्न सकेको देखिएको छैन ।

समीक्षा अवधिमा बैंकको चुक्ता पूँजी ५ अर्ब ३० रुपैंयाबाट बढेर ८ अर्ब १२ लाख पुगे पनि बढेको पूँजी अनुसार आम्दानीमा  वृद्धि गर्न नसकेको देखिएको हो ।

यो बैंकले चालु आर्थिक वर्षको दोश्रो त्रैमाससम्म ८२ करोड ४७ लाख खूद नाफा आर्जन गरेको छ । अघिल्लो वर्षको यही अवधिमा बैंकको नाफा ६२ करोड २४ लाखमा सीमित थियो ।

दोश्रो त्रैमाससम्म बैंकको प्रतिसेयर आम्दानी २०.५६ रुपैयाँ रहेको छ । अघिल्लो वर्ष यही अवधिमा यस्तो आम्दानी २३.६५ रुपैयाँ थियो ।

बैंकको खूद ब्याज आम्दानी १ अर्ब ३३ करोड रुपैयाँको उचाईमा पुगेको छ ।

यो अवधिमा बैंकको खराब कर्जा बढेको छ, यो राम्रो संकेत होइन । अघिल्लो वर्षको यही अवधिमा ०.१ प्रतिशत रहेको खराब कर्जा यो वर्ष ०.३ प्रतिशत पुगेको हो । यो बैंकले समीक्षा अवधिमा ६८ अर्ब ३९ करोड निक्षेप संकलन गरी ६० अर्ब ५२ करोड कर्जा परिचालन गरेको छ ।

यो अवधिमा बैंकको जगेडाकोषको आकार केही ठूलो भएको छ । अघिल्लो वर्ष यही अवधिमा जगेडाकोषमा १ अर्ब ४१ करोड रहेकोमा समीक्षामा अवधिमा बढेर १ अर्ब ८८ करोड पुगेको हो । बैंकले संभावित जोखिम व्यवस्थापनका लागि ११ करोड छुट्याएको छ भने कोषको लागत ४.०९ प्रतिशतबाट बढी ७.२४ प्रतिशतमा पुगेको छ ।

समीक्षा अवधिमा बैंकको प्रतिसेयर नेटवर्थ १२३.५५ रुपैयाँ, मूल्य आम्दानी अनुपात १६.५४ गुणा कायम भएको छ ।

 

प्रकाशित : ७ माघ २०७४, आईतवार ११:४२