सरकारी सहुलियत मूल्य नै महँगो भएपछि चामल बिक्री हुनै छाड्यो « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

सरकारी सहुलियत मूल्य नै महँगो भएपछि चामल बिक्री हुनै छाड्यो



ताप्लेजुङ। बजार मूल्यभन्दा महँगो भए पछि ताप्लेजुङमा रहेको खाद्य संस्थानको चामल बिक्री अघिल्लो आवको तुलनामा झन्डै ६० प्रतिशतभन्दा बढीले घटेको छ ।

संस्थानको शाखा कार्यालय ताप्लेजुङका अनुसार आव २०७०÷७१ मा दुई हजार ९०१ क्विन्टल चामल बिक्री भएकामा गत आवमा एक हजार २५८ क्विन्टलमा झरेको छ ।

कार्यालयका प्रमुख जीतबहादुर तुम्बापोले बजार मूल्यभन्दा केही महँगो हुनु, यातायातको सुविधाले उपभोक्ताले गाउँघरमै चामल किन्न पाउनु जस्ता कारण खाद्य संस्थानको चामल बिक्रीदर घटेको बताउनुभयो । उहाँका अनुसार आव २०७०÷७१ मा चामल बिक्रीबाट खाद्य संस्थान शाखाले रु एक करोड चार लाख ४३ हजार ८६० सङ्कलन गरेको थियो । चालु आवमा कुल रु ५१ लाख ९५ हजार ७२५ बराबरको मात्र चामल बिक्री भएको तुम्बापोले जानकारी दिनुभयो ।

यस्तै आव २०७१÷७२ मा बिक्री नभएको ९९५ क्विन्टल चामललाई चालु आवमा बिक्री गरी सक्ने कार्यालयको लक्ष्य छ । खाद्य संस्थानको शाखा कार्यालयसँग चालु आवमा आयात भएको एक हजार ९९३ र अघिल्लो ९९५ गरी कुल दुई हजार ९८८ क्विन्टल चामल मौज्दात रहेको छ । “चामल बिक्रीको पछिल्लो अवस्था हेर्दा चालु आव पनि सन्तोषजनक देखिँदैन,” तुम्बापोले भन्नुभयो ।

खाद्य संस्थानले बिक्री गर्ने चामलको मूल्य प्रतिकेजी रु ४१ रहेको छ । सोही चामलको खुल्ला बजार मूल्य प्रतिकेजी रु ३८ मात्र छ । यसरी बजार मूल्यभन्दा संस्थानले बिक्री गर्ने चामलको मूल्य प्रतिकिलो रु तीनले महँगो देखिएको छ । प्रतिस्पर्धात्मक बजारमा मूल्य दाँजेर लिने उपभोक्ता भाउ सोध्दै फर्कने गरेको शाखाले जनाएको छ ।

संस्थानको चामल बजारको भन्दा केही सस्तो हुँदा सेवाग्राहीको भीड लाग्ने र जिल्लाको कोटाले नै नधान्ने गरेकामा पछिल्ला वर्ष चामल बिक्री हुन छाडेपछि मूल्य समायोजनबाहेक अर्को उपाय नहुने तुम्बापोले बताउनुभयो ।

अझ देशभरका कारागारमा रहेका कैदीलाई दिइने सिदाका लागि खाद्य संस्थानको चामल मात्र उपयोग गरिन्छ । सोहीअनुसार यहाँका कैदीबन्दीले बजार मूल्यभन्दा महँगो चामललाई खाद्यान्नको रुपमा प्रयोग गरिरहेका छन् । दुर्गम भेगका जनतालाई सहुलियत दरमा दिने मुख्य उद्देश्य राखेर जनताले खाद्य संस्थानमार्फत वितरणको व्यवस्था मिलाएको भएपनि बजार मूल्यभन्दा सरकारी सहुलियत मूल्य महँगो देखिएको छ ।

खाद्य संस्थानले यहाँका उपभोक्तालाई रु ४१ प्रतिकिलोमा बेच्दै आएको चामल कारागार शाखालाई रु ४८ मा मात्र उपलब्ध गराउँछ ।

प्रकाशित : २३ भाद्र २०७२, बुधबार ०३:०९