अयोगले राष्ट्रपतिलाई बुझायो राष्ट्रियसभाको परिणाम « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

अयोगले राष्ट्रपतिलाई बुझायो राष्ट्रियसभाको परिणाम



काठमाडाै । निर्वाचन आयोगले राष्ट्रियसभा निर्वाचनको परिणाम राष्ट्रपति विद्या भण्डारीलाई बुझाएको छ। आयोगका पदाधिकारीहरूले आइतबार राष्ट्रपति भवन शीतलनिवासमा पुगेर राष्ट्रपति भण्डारीलाई राष्ट्रियसभा निर्वाचनको परिणाम बुझाएका हुन्। संवैधानिक व्यवस्थाअनुसार राष्ट्रियसभा निर्वाचनको परिणाम राष्ट्रपतिलाई बुझाइएको निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिए। बुधबार ५६ सदस्यका लागि भएको राष्ट्रियसभा निर्वाचनको परिणाम बिहीबार सार्वजनिक गरिएको थियो।

उक्त विवरण आयोगले ७ दिनभित्र राष्ट्रपति समक्ष पेश गर्ने संवैधानिक व्यवस्था छ। संविधान र कानुनको परिधिभित्र रहेर ढिला नगरी राष्ट्रियसभा निर्वाचनको परिणाम राष्ट्रपति समक्ष पेश गरिएको पनि निर्वाचन आयोगका प्रवक्ता ढकाल बताए। राष्ट्रियसभा निर्वाचनमा एमाले २७ सिटमा विजयी भएर पहिलो दल बन्न सफल भएको थियो।

 

त्यसैगरी नेपाली कांग्रेस १३, नेकपा माओवादी केन्द्र १२, राष्ट्रिय जनता पार्टी नेपाल २ र संघीय समाजवादी फोरम नेपाल २ स्थानमा विजयी भएका छन्। ५९ सदस्यीय राष्ट्रियसभालाई पूर्णता दिन राष्ट्रपतिले सरकारको सिफारिसमा ३ सदस्य मनोनित गर्ने संवैधानिक व्यवस्था छ। निर्वाचन आयोगले ढिलोमा फागुन ५ गतेभित्र प्रतिनिधिसभाको सम्पूर्ण निर्वाचन परिणाम पनि राष्ट्रपति समक्ष पेश गर्ने तयारी गरेको छ। निर्वाचन आयोगले प्रतिनिधिसभा र राष्ट्रियसभाको सम्पूर्ण निर्वाचन परिणाम राष्ट्रपति समक्ष पेश गर्नेबित्तिकै नयाँ सरकार गठनका लागि बाटो खुला हुनेछ।

प्रकाशित : २८ माघ २०७४, आईतवार १४:४९