प्रदेश नं ४ को सभामुखमा अधिकारी निर्विरोध « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

प्रदेश नं ४ को सभामुखमा अधिकारी निर्विरोध



पोखरा /  नेकपा (माओवादी केन्द्र)का नेता एवं प्रदेशसभा सदस्य नेत्रनाथ अधिकारी प्रदेश नं ४ को सभामुखमा निर्विरोध निर्वाचित हुनुभएको छ ।

सभामुख पदका लागि आज भएको मनोनयनमा अधिकारीको मात्र उम्मेदवारी परेका कारण उहाँ निर्विरोध बन्नुभएको प्रदेशसभाका ज्येष्ठ सदस्य जनकलाल श्रेष्ठले जानकारी दिनुभयो ।

शिक्षक आन्दोलनमा लागेको आरोपमा पञ्चायतकालमा तत्कालीन सरकारद्वारा शिक्षक पद बर्खास्तीमा पर्नुभएका अधिकारी आफ्नो राजनीतिक यात्राका विभिन्न चरण पार गर्दै प्रदेश नं ४ को सभामुखको जिम्मेवारीमा पुग्नुभएको हो ।

जम्मा ६० सदस्य रहेको प्रदेश नं ४ मा वाम गठबन्धनको पूर्वसहमतिअनुसार पदीय भागबण्डामा नेकपा माओवादी केन्द्रलाई सभामुख पद परेपछि उक्त पार्टीले अधिकारीलाई सभामुखको उम्मेदवार बनाउने तय गरेको थियो ।

उहाँको प्रस्तावकमा माओवादी केन्द प्रदेश नं ४ का संसदीय दलका नेता हरि चुमान रहनुभएको थियो भने समर्थकमा एमाले प्रदेशसभा सदस्य किरण गुरुङ हुनुहुन्थ्यो । प्रदेशसभामा जम्मा २७ सदस्य रहेको एमाले र १२ सदस्य रहेको माओवादी केन्द्रको समर्थनमा सभामुख निर्विरोध निर्वाचित हुनुभएका अधिकारी कुश्मा नगरपालिका वडा नं १ (साविकको पाङ गाविस वडा नं ५) पर्वतमा जन्मनुभएको हो ।

पिता स्व थगराज अधिकारी र माता स्व देवकला अधिकारीबाट विसं २०२२ जेठ ३ गते जेठो सन्तानका रुपमा जन्मेका अधिकारीका श्रीमती र दुई छोरी हुनुहुन्छ । उहाँले आइए उत्तीर्ण गर्नुभएको छ ।

विसं २०३८ मा तत्कालीन नेपाल कम्युनिष्ट पार्टीको चौथो महाधिवेशनबाट पार्टी सदस्यता लिएका अधिकारी त्यसयता निरन्तर पार्टीका विभिन्न जिम्मेवारीमा हुनुहुन्छ । द्वन्द्वकाल २०५२ देखि २०६२ सालसम्म भूमिगत रुपमा सक्रिय अधिकारी त्यसअघि भने शिक्षण पेशामा क्रियाशील हुनुहुन्थ्यो ।

विसं २०४१ सालदेखि अध्यापन शुरु गरेका अधिकारीले २०४५ सालसम्म म्याग्दीको खिवाङ निमाविमा पढाउनुभयो भने त्यसपछि गाउँकै नुवारसुवेदीथर माविमा डेढ वर्ष पढाउनुभयो ।

सोही समयमा शिक्षक आन्दोलनमा लागेको आरोपमा तत्कालीन पञ्चायत सरकारद्वारा उहाँको शिक्षक पद बर्खास्तीमा पारिदिएको थियो ।

राजनीतिमा लामो समयदेखि क्रियाशील अधिकारी २०४५ मा अनेरास्ववियुको केन्द्रीय सदस्य रहनुभयो भने २०४८ मा नेकपा मशालको म्याग्दी सेक्रेटरीको जिम्मेवारी बहन गर्नुभयो ।

अधिकारी विसं २०४९÷५० मा नेकपा एकता केन्द्रको पर्वत इञ्चार्ज रहनुका साथै विसं २०५२ मा एकता केन्द्रको गण्डक ब्यूरो सदस्य र पर्वत, स्याङजा, बागलुङको सेक्रेटरी एवं इञ्चार्ज जस्ता पदको जिम्मेवारी बहन गरिसक्नुभएको छ ।

विभिन्न जिल्लामा पार्टीको महत्वपूर्ण भूमिकामा रहेका उहाँ २०५७–५९ मा माओवादीको कास्की सेक्रेटरी, २०५९÷६० मा ओवादीको स्याङजाका इञ्चार्ज बन्नुभएको थियो ।

उहाँ विसं २०६१÷६२ मा माओवादीको मगरात राज्य कार्यालय सेक्रेटरी रहनुभयो भने २०६५ देखि हालसम्म माओवादी पर्वतको इञ्चार्ज रहँदै आउनुभएको छ । हेटौँडा महाधिवेशनको केन्द्रीय आयोजक सदस्य रहनुभएका उहाँ हाल माओवादी केन्द्रको पोलिटब्यूरो सदस्य हुनुहुन्छ ।

विसं २०७० को संविधानसभाको दोस्रो निर्वाचनमा पर्वत क्षेत्र नं १ मा प्रत्यक्ष उम्मेदवार भई पराजित अधिकारी हालै सम्पन्न प्रदेशसभाको निर्वाचनमा पर्वत (क) बाट २१ हजार ५०८ मतसहित विजयी बन्नुभएको हो ।

विभिन्न चरणका राजनीतिक संघर्षको यात्रापछि देश वर्तमान अवस्थामा आइपुगेको स्मरण गर्दै अधिकारीले यसको सफल कार्यान्वयन नै आफ्नो प्रमुख लक्ष्य रहेको बताउनुभयो ।

प्रकाशित : २ फाल्गुन २०७४, बुधबार २१:४०