ओलीलाई प्रधानमन्त्री नियुक्त गर्न राष्ट्रपतिलाई पत्र,आजै शपथको सम्भावना « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

ओलीलाई प्रधानमन्त्री नियुक्त गर्न राष्ट्रपतिलाई पत्र,आजै शपथको सम्भावना



काठमाडौँ । वाम गठबन्धनले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष प्रधानमन्त्रीमा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीलाई नियुक्त गर्न दाबीपत्र प्रस्तुत गरेको छ ।

एमालेका अध्यक्ष ओली र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले हस्ताक्षर गर्नुभएको सो पत्र केहीबेर अघि राष्ट्रपति कार्यालय, शीतल निवासमा बुझाइएको हो ।

गत मंसिर १० र २१ मा सम्पन्न प्रतिनिधिसभा सदस्यको निर्वाचनको अन्तिम परिणाम बुधबार निर्वाचन आयोगले राष्ट्रपतिसमक्ष बुझाएपछि नयाँ सरकार गठनको प्रक्रिया शुरु भएको हो

दुवै दलका अध्यक्षले हस्ताक्षर गरेको सो पत्रमा नेपालका संविधानको धारा ७६ (२) बमोजिम बहुमतका आधारमा प्रधानमन्त्री नियुक्त गर्न उल्लेख गरिएको छ । २७५ सदस्यीय प्रतिनिधिसभामा एमालेको १२१ र केन्द्रको ५३ सदस्य छन् ।

उहाँहरुको दाबीपत्र आएपछि प्रधानमन्त्री नियुक्ति र शपथ ग्रहणको कार्यक्रम तय हुने राष्ट्रपतिका सञ्चारविज्ञ माधव शर्माले जानकारी दिनुभयो । भेटका अवसरमा अध्यक्षद्वयका साथै एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल र केन्द्रका नेता नारायणकाजी श्रेष्ठ पनि सहभागी हुनुहुन्थ्यो ।

आजै शपथको सम्भावना

राष्ट्रपतिका प्रमुख स्वकीय सचिव भेषराज अधिकारीले नयाँ प्रधानमन्त्रीको सकेसम्म आजै ४ बजे शपथ ग्रहण हुने सम्भावना रहेको बताउनुभयो । सरकार गठनको प्रक्रिया अघि बढेकाले राष्ट्रपतिको पाथीभरा महोत्वसमा जाने आजको कार्यक्रम स्थगन भएको छ । रासस

प्रकाशित : ३ फाल्गुन २०७४, बिहीबार ११:३०