म्याग्दीमा उत्पादित अल्लोको कपडा जापान निकासी « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

म्याग्दीमा उत्पादित अल्लोको कपडा जापान निकासी



म्याग्दी । म्याग्दीमा उत्पादित अल्लोको कपडा जापान निकासी हुन थालेको छ । बेनी नगरपालिका( ४ हाडेभिरमा हिमाली अल्लो कपडा उत्पादन लघुउद्यमी समूहका सदस्यहरुलाई विदेशबाट कपडाको माग आउन थालेपछि भ्याइनभ्याई भएको छ ।

अल्लो पुवालाई प्रशोधन गरेर त्यसको धागोबाट कपडा तयार पारिन्छ ।कोट, झोला, पर्स, सल र स्विटर बनाउनका लागि जापानमा अल्लोका कपडा निकासी गरेको समूहकी अध्यक्ष विष्णु गुरुङले बताइन् । समूहमा आबद्ध उद्यमीहरुले एक वर्षयता उत्पादन गरेको दुई हजार मिटर अल्लोको कपडा जापान निर्यात गरिएको छ ।

एक वर्षमा कपडा बेचेर १० लाख रूपैयाँ आम्दानी भएको गुरुङको भनार्इ छ । बलियो, टिकाउ, जाडोमा न्यानो र गर्मीमा शीतल हुने अल्लोका कपडा जापानका साथै काठमाडौँ र पोखराको बजारमा पनि बिक्री हुन्छ ।

गुरुङसँगै आफ्ना छोराछोरीलाई पढाउनका लागि विभिन्न गाउँबाट सदरमुकाम झरेका महिलाले हाँडेभिरस्थित साझा सुविधा केन्द्रमा अल्लो प्रशोधन गरि धागो र कपडा बनाउने गरेका छन् । समूहमा सात जना महिलाहरु आवद्ध छन् ।

एक मिटर अल्लो कपडा ५ सय रूपैयाँका दरले बिक्री हुने उद्यमी नेकसरा पुनले बताइन् । एकजनाले दिनमा छ मिटरसम्म कपडा बनाउँछन् । ‘मासिक १५ हजार रूपैयाँसम्म आम्दानी हुन्छ’( पुनले भनिन् – ‘घरखर्च चलाएर पनि बचत गर्न थालेका छौँ । पैसाका लागि श्रीमान् र घरका सदस्यमा निर्भर हुनुपरेको छैन ।’

घरायसी कामबाट बचेको दिउँसोको समय र सीपलाई उनीहरुले साझा सुविधा केन्द्रमा कपडा बुनेर सदुपयोग गरेका छन् । ‘बिहान बेलुकाको घरायसी काम गरेपछि दिउँसो फुर्सदको समयमा सामूहिक कपडा बनाउँछौँ’ उद्यमी विष्णुकुमारी अर्मजाले भनिन् – ‘समय र सीपको सदुपयोगसँगै आयआर्जनको अवसर पनि मिलेको छ ।’
उनीहरुलाई लघुउद्यम विकास कार्यक्रम, सङ्गम म्याग्दी, लघुउद्यमी समूह सङ्घ, घरेलु तथा साना उद्योग विकास समिति, वन कार्यालय, बहुसरोकारवाला वन कार्यक्रमले तालिम र औजार सहयोग गरेका छन् । कपडा उत्पादनसँगै गुणस्तर वृद्धि गर्दै लैजाने योजना बनाएका उद्यमीहरुले धागो बनाउनका लागि अल्लोको पुवा अभाव भएको बताएका छन् ।
उच्च पहाडी क्षेत्रका जङ्गलमा पाइने चाल्ने सिस्नो भनेर चिनिने अल्लोको पुवालाई प्रशोधन गरेर तयार गरेको धागोबाट कपडा बनाउने गरिएको छ । गाउँलेले जङ्गलबाट सङ्कलन गरेको पुवालाई प्रशोधन गरी बनाएको धागो प्रतिकिलो रु एक हजारका दरले खरिद गर्छन् ।
कपडा बनाउन थालेपछि जङ्गलमा खेर गइरहेको अल्लो पुवा उपयोगमा आएको छ । एक किलो धागोबाट पाँच मिटर कपडा बनाउन सकिन्छ ।

प्रकाशित : २६ भाद्र २०७२, शनिबार १२:४०