माथिल्लो तामाकोशीको प्रसारण लाइन निर्माण पाँच महिना पछि पुनः सुरु « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

माथिल्लो तामाकोशीको प्रसारण लाइन निर्माण पाँच महिना पछि पुनः सुरु



दोलखा – भूकम्पका कारण बन्द रहेको माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको प्रसारण लाइन निर्माणको काम पाँच महिना पछि पुनः सुरु भएको छ ।

भूकम्पका कारण निर्माण बन्द भएकोमा लट–४ का भारतीय ठेकेदार कम्पनी केइसी इन्टरनेशनल लिमिटेडले निर्माण कार्य पुनः सुरु गरेको हो । आयोजनाले केन्द्रीय ग्रीडमा २०७३ सालदेखि २२०/१३२ केभी प्रसारण लाइनमार्फत विद्युत् जोड्ने लक्ष्य लिएको थियो ।

तीन गाविसमा सात वटा टावरको निर्माण गर्ने कार्य पुनः सुरु गरिएको माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाका वातावरण विभाग प्रमुख एवम् प्रवक्ता डा. गणेश न्यौपानेले जानकारी दिनुभयो ।

उहाँका अनुसार लादुक र लामिडाँडा गाविसमा छ वटा टावरको पिट मार्किङ, लेभलिङ र स्काभेसन सुरु भएको छ भने जफे गाविसको एउटा टावर निर्माणको लागि स्टिल फेब्रिकेसन ढुवानी सुरु भएको छ ।

प्रवक्ता न्यौपानेले आवादी जमिन भएको स्थानमा काम सुरु गरिएको र सामुदायिक वन क्षेत्रमा परेका ५५ टावर निर्माणको लागि वन मन्त्रालयको स्वीकृतको लागि अन्तिम अवस्थामा रहेको बताउनुभयो । सम्पूर्ण तयारी सकिएकाले असोज १ देखि आयोजनाको पावर हाउसको काम र बाँधस्थल पुग्ने प्रवेश मार्गको मर्मत सुरु गरिने उहाँले जानकारी दिनुभयो ।

आयोजनाको लट–४ अन्तर्गत करिब २८ वटा टावरको काम सुरु गरिएकोमा १३ टावरको निर्माण सम्पन्न भइसकेको आयोजनाले जनाएको छ । केइसीका किरातीछाप स्टोर इन्चार्ज केएस सरकारले टावरको स्टिल पाता, डिस, रिङसमेत निर्माणस्थलमा ढुवानी भइरहेको जानकारी दिनुभयो ।

आयोजनाको लट–४ अन्तर्गत पर्ने प्रसारण लाइनको सम्झौताअनुसार २०७२ असार मसान्तसम्म निर्माण सक्नुपर्नेमा एक वर्ष ढिला सुरु भएको थियो । प्रसारण लाइनका लागि केइसीले १ करोड ७९ लाख ४ हजार ८ सय ७२ अमेरिकी डलर तथा २५ करोड २५ लाख ५९ हजार ५ सय २० रुपैयाँ गरी दुई मूल्यमा निर्माण सम्झौता गरेको थियो ।

प्रकाशित : २७ भाद्र २०७२, आईतवार १४:४२