उपभोक्तावादी संस्थामा विकृति « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

उपभोक्तावादी संस्थामा विकृति



काठमाडौ । उपभोक्ता अधिकार संरक्षणका नाममा खुलेका संघ संस्थाहरुमा बिकृति बढेको भन्दै उपभोक्तावादी संघ संस्थामा पनि आचारसंहिता लागू गरिनुपर्ने सरोकारवालाहरुले बताएका छन् । राजनीतिक दलहरुजस्तै च्याउसरी उम्रिएका उपभोक्तावादी संस्थामा पनि राजनीति दलहरुमा जस्तै विकृति मौलाउँदै गएको उनीहरुले बताए । आइतबार राजधानीमा आयोजित राष्टिय उपभोक्ता मञ्चको १० औं वार्षिकोत्सव तथा सम्मान कार्यक्रममा उनीहरुले यस्तो बताएका हुन् । अनुगमनकारी निकाय वाणिज्य तथा आपूर्ति व्यवस्थापन विभागका निर्देशक हरिनारायण वेल्वासेले च्याउसरी उम्रिएका उपभोक्तावादी संस्थाका कारण बिकृति बढेको आरोप लगाए । कतिपय उपभोक्ताकर्मीहरु उपभोक्ता हितभन्दा पनि व्यापारीसँग वार्गेनिङमा लाग्ने गरेको उनको आरोप थियो ।

कतिपय उपभोक्तावादी दैनिकी नियमनकारी निकायको ढोकामा ढुकेरै वित्ने गरेको उनले बताएका छन् । उनले भने–अहिले ६० भन्दा बढी उपभोक्तावादी खुलेका छन् र अझै खुल्ने क्रम जारी छ, स्वयमसेवकका रुपमा काम गर्नुपर्ने संस्थामा किन यति धेरै आकर्षण छ ? यस्ता संस्थाहरुको आयश्रोत के हो ?

राष्टिय उपभोक्ता मञ्चका अध्यक्ष प्रेमलाल महर्जनले पनि उपभोक्ता संस्थाहरुमा बिकृति रहेको स्वीकार गर्दै आचारसंहिता आवश्यक रहेको बताए । उपभोक्ता अधिकारका नाममा व्यापारीसँग वार्गेनिङ गर्ने संस्थालाई सरकारले कारवाही गर्नुपर्ने उनले बताए । उनले भने– सरकारी निकायको ढोकामा ढक्नेलाई गलहत्याउन सक्नुपर्छ । तर सम्वद्ध अधिकारीहरुले त्यस्ता व्यक्तिलार्ई आश्रय दिइरहेका छन् । वाणिज्य तथा आपूर्ति राज्यमन्त्री गिरीबहादुर केसीले सरोकारवाला निकायहरुलाई उपभोक्ता हितमा निरन्तर लागिरहन आग्रह गरे । उपभोक्ता अधिकार संरक्षणमा मन्त्रालयको संधै सहयोग रहने उनको भनाइ थियो ।

सो अवसरमा उपभोक्ता अधिकारको क्षेत्रमा क्रियाशील सञ्चारकर्मी, उपभोक्ताकर्मी तथा सम्वद्ध सरकारी निकाय अधिकारीलाई सम्मान गरिएको थियो । सम्मानित हुनेहरुमा हिमालय टाइम्सका लेखनाथ पोखरेल, आर्थिक दैनिक, वाणिज्य तथा आपूर्ति मन्त्रालयका निर्देशक हरिनारायण वेल्वासेलगायत रहेका छन् ।

प्रकाशित : २८ भाद्र २०७२, सोमबार १२:३१