सात वर्षपछि कृषि संकायको पठनपाठन « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

सात वर्षपछि कृषि संकायको पठनपाठन



चितवन । त्रिभुवन विश्वविद्यालयले सात वर्षपछि पुनः चितवनमा कृषि संकायमा पठनपाठन शुरु गर्ने भएको छ । सरकारले त्रिभुवन विश्वविद्यालयको रामपुरमा रहेको कृषि क्याम्पस भएको ठाउँलाई कृषि तथा वन विज्ञान विश्वविद्यालयलाई दिएपछि सात वर्षअघिदेखि त्रिविले रामपुरमा कृषि र भेटेनरी विषयको पठनपाठन गराउन पाएको थिएन ।

जिल्लामा नै कृषि शिक्षा पढाउने उद्देश्यका साथ निरन्तर लागेको त्रिविले यसवर्ष भने पूर्वी चितवनको खैरहनीमा कृषि स्नातक भर्नाका लागि आवेदन माग गरेको हो । त्रिविका उपकूलपति प्रा डा तीर्थ खनियाले चितवनवासीको मागअनुसार लामो समयपछि पुनः कृषि विषय पढाउन लागिएको बताउनुभयो ।

खैरहनी माध्यामिक विद्यालयसँगै रहेका भवनमा हालका लागि पठनपाठन गरिनेछ । उपकुलपति खनियाले खैरहनी नगरपालिका– ४ चैनपुरमा क्रमशः संरचना निर्माण गर्दै लगेर क्याम्पस स्थानान्तरण गरिने बताउनुभयो । सो ठाउँ यसअघि पूर्व माओवादी लडाकुहरु राखिएको ठाउँ हो ।

रामपुरबाट कृषि क्याम्पस बाहिरिएपछि सरकारले चैनपुरमा त्रिविलाई ३५४ बिघा जग्गा र संरचना निर्माणका लागि रकम दिने निर्णय गरिसकेको छ । रामपुरमा ४० बिघा त्रिविलाई दिएर बाँकी सबै कृषि तथा वन विज्ञान विश्वविद्यालयलाई दिने निर्णय भएको छ । रामपुरमा इन्जिनियरिङ विषयको पढाइ हुनेछ ।

त्रिविका कृषि संकायका डिन केशव अधिकारीले खैरहनीमा प्रयोगात्मक कक्षाका लागि नगरपालिकाले दुई बिघा जग्गा उपलब्ध गराएको बताउनुभयो । अन्य प्रयोगशालामा गर्नुपर्ने प्रयोगात्मक कक्षाका लागि भरतपुरको नेपाल पोलिटेक्निक इन्स्टिच्यूटसँग सम्झौता भइसकेको छ । यसवर्ष कृषि स्नातकमा ५० जना विद्यार्थी पढाउने उहाँले बताउनुभयो ।

वैशाखबाट पढाइ शुरु गर्ने गरी भर्ना प्रक्रिया अघि बढाइएको छ । हाल त्रिविले लमजुङको सुन्दर बजार, भैरहवाको पक्लिहवा र झापाको गौरादहमा कृषि स्नातक पढाउँदै आएको छ । पक्लिहवामा भेटेनरीको समेत पढाइ गरिँदै आएको छ भने इलाममा बिएससी एग्रीकल्चरको पढाइ हुँदै आएको छ ।

त्यसैगरी, सम्बन्धन दिएर दाङको तुलसिपुर, लमही र बैतडीमा कृषि स्नातकको पढाइ हुँदै आएको छ । हाल नेपालमा रहेका कृषि वैज्ञानिक, प्रध्यापक र कृषिका कर्मचारी अधिकांश त्रिविको उत्पादन हुन् । चितवनमा त्रिविलाई कृषि पढाउन वञ्चित गरेपछि त्रिविका उपकुलपति खनिया पुनः जिल्लामा कृषि पढाइ थाल्नु पर्ने भन्दै लागि पर्नुभएको छ । उहाँ चितवनवासी हुनुहुन्छ ।

प्रकाशित : २१ फाल्गुन २०७४, सोमबार १२:१५