बैतडीमा घर, डडेल्धुरामा कर « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

बैतडीमा घर, डडेल्धुरामा कर



बैतडी। बैतडीको तल्लोस्वराड मेलौलीका नागरिक घर जग्गाको कर तिर्न डडेल्धुरा जान बाध्य भएका छन् । बैतडीको मेलौली नगरपालिका–८, का ४०० भन्दा बढी घरपरिवार आफ्नो घर, जग्गा तथा सम्पत्तिको कर डडेल्धुरा जिल्लामा तिर्दै आएका छन् । विसं २०३२ भन्दा अगाडि त्यस क्षेत्र डडेल्धुरा जिल्लामा राखिएको हुँदा डडेल्धुरामा नै राजश्व बुझाउँदै आएको मेलौली नगरपालिका–८ का वडासदस्य प्रेमसिंह विष्टले बताउनुभयो ।

पछि सीमांकन गर्दा सुर्नया नदीलाई सीमाना बनाएर मेलौलीको विशालपुर क्षेत्र बैतडीमा गाभिएपछि जग्गाको नापी नहुँदा कर डडेल्धुराको भागेश्वर गाउँपालिकामा तिर्न जानुपर्ने बाध्यता रहेको छ । उहाँले भन्नुभयो “डडेल्धुरा जिल्लामा राजश्व बुझाउँदै आए पनि डडेल्धुराबाट सेवा सुविधा भने पाएका छैनौँ ” ।

मेलौली–८ का बासिन्दालाई घरजग्गा कारोबार, कित्ताकाटदेखि जग्गा पास गर्नसमेत डडेल्धुरा नै पुग्नुपर्ने बाध्यता छ । फरक भू–भाग भएकै कारण बैतडी र डडेल्धुराको सिमानामा विद्युत् भएपनि बैतडी बासिन्दाले विद्युत्को उपभोग गर्न नपाएको स्थानीय तपेन्द्र विष्टले जानकारी दिनुभयो । स्थानीय बासिन्दाले बैतडी क्षेत्र ‘ख’ का प्रदेश सांसद लिलाधर भट्टलाई त्यस क्षेत्रको समस्याबारे जानकारी समेत गराएको बताएका छन् ।

आफूलाई विशालपुर बासिन्दाको समस्या थाहा हुने बित्तिकै नापी विभाग तथा जिल्ला नापी कार्यालयमा खबर गरेको र प्रमुख जिल्ला अधिकारीसहित सरोकारवालासँग छलफल गरेको सांसद भट्टले बताउनुभयो । उहाँले भन्नुभयो “समस्या समाधानका लागि पहल थालेको छु, छिट्टै समस्या समाधान हुन्छ ।”

जिल्लामा यो विषयमा पहिलोपटक खबर आएको र यो समस्या समाधानका लागि पहल थाल्ने जिल्ला नापी कार्यालय, बैतडीका प्रमुख नरबहादुर चन्दले बताउनुभयो ।

प्रकाशित : २२ फाल्गुन २०७४, मंगलवार १०:५७