महानगरपालिकावासी न्यूनतम स्वास्थ्य सेवाबाट वञ्चित « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

महानगरपालिकावासी न्यूनतम स्वास्थ्य सेवाबाट वञ्चित



ललितपुर । ललितपुर महानगरपालिकावासी न्यूनतम स्वास्थ्य सेवाबाट समेत वञ्चित छन् ।महानगरपालिकामा सामान्य उपचारका लागि एउटा पनि सरकारी तहको अस्पताल नहुँदा सरकारले उपलब्ध गराएको स्वास्थ्य सुविधामा महानगरवासीको पहुँच पुगेको छैन । ललितपुर स्वास्थ्य सञ्जालका अध्यक्ष पुरुषोत्तम कार्कीले महानगरमा मानसिक अस्पतालबाहेक एउटा पनि सरकारी अस्पताल नभएको बताउनुभयो । उहाँले भन्नुभयो, “यहाँबाट बिरामी काठमाडौँका सरकारी अस्पताल वा निजी अस्पताल जान बाध्य छन् ।”

सरकारी अस्पताल नहुँदा सबैभन्दा बढी समस्या महिलालाई भएको अध्यक्ष कार्की बताउनुहुन्छ । महानगरपालिकाअन्तर्गत २० क्लिनिक सञ्चालित छन् । तीमध्ये कतिपयले ‘बर्थिङ सेन्टर’ शुरु गरेका छन् । ती केन्द्रबाट सिफारिस गरेर कहाँ पठाउने समस्या हुने गरेको उहाँ बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “कि त किष्ट अस्पताल वा प्रसूति गृह पठाउने गरिन्छ ।”

सिङ्गो महानगरपालिकामा जिल्ला तहको अस्पताल मात्रै होइन प्राथमिक स्वास्थ्य केन्द्रसमेत छैन । सरकारले जिल्ला अस्पताल र प्राथमिक स्वास्थ्य केन्द्रलाई उपलब्ध गराउने औषधि र स्वास्थ्यकर्मीको सेवाबाट स्थानीयवासी वञ्चित हुन परिरहेको छ । उहाँ भन्नुहुन्छ, “शहरी क्षेत्रमा धेरै शहरी गरीव पनि बसोबास गर्छन्, उनीहरुले पनि न्यूनतम शुल्कमा सेवा पाएका छैनन् ।” विषयगत कार्यालयले दिने सेवा स्थानीय तहले दिने भनिए पनि स्वास्थ्यलगायत कार्यालयले सञ्चालन गर्ने कार्यक्रम शुरु भइसकेको छैन ।

प्रकाशित : २२ फाल्गुन २०७४, मंगलवार ११:२४