महानगरका भित्री भागमा आगलागीको जोखिम « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

महानगरका भित्री भागमा आगलागीको जोखिम



ललितपुर । ललितपुर महानगरपालिकाका भित्री भागका धेरै टोल आगलागीको जोखिममा रहेका छन् ।

नगरका भित्रि भागमा दमकल जानसक्ने बाटो नभएकाले आगलागीको जोखिममा रहेका हुन् । चैत–वैशाखमा आगलागीका घटना बढी हुने गरेको छ । गाडी जाने ठाउँसम्म दमकल लगेर त्यहाँबाट उता पाइप तानेर लानुपर्ने नगरप्रहरी प्रमुख कदमलाल महर्जनले बताउनुभयो । आगलागी भएको ठाउँभन्दा गाडी टाढा हुँदा दमकलले कम काम गर्छ । उहाँ भन्नुहुन्छ, “जति नजिकबाट हान्यो त्यति तीव्रगतिमा पानी हान्छ ।” बाटोबाट टाढा हुँदा पाइप मिलाएर घटनास्थलसम्म पुग्न समय लाग्ने उहाँ बताउनुहुन्छ ।

आगलागी भएको ठाउँबाट सडक टाढा हुँदा दमकलको पाइप पुग्न समय लाग्छ । घरहरुको माथिबाट पाइप व्यवस्थित गरेर लैजाँदासम्म धेरै क्षति भइसक्ने प्रमुख महर्जन बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “दमकल उतिबेला नै पुगेपनि सडक नजिकका घरभन्दा टाढाका घरमा बढी क्षति हुन्छ ।”

टोल–टोलमा पानीे ट्याङकीमा पानी जम्मा गरेर राख्ने र फायर मेसिन राख्न सके जोखिम कम गर्न सकिने उहाँ बताउनुहुन्छ । केही वर्षपहिले नागबहालमा जापानी संस्थाको सहयोगमा ट्याङकीको निर्माण र स्थानीयवासीलाई तालिम दिइएको थियो ।

उहाँ भन्नुहुन्छ, “हिउँदमा जहिलेसुकै जोखिम भएकाले हामी आफैँले यस्तो तयारी गर्न सके क्षति कम गर्न सकिन्छ ।” नगरका अधिकांश ठाउँमा चोकहरुको भित्र परम्परागतरुपमा बस्ती बसेकाले धेरै घरमा सडकभन्दा घरहरु टाढा छन् ।

प्रकाशित : २३ फाल्गुन २०७४, बुधबार ११:१३