बढी शुल्क लिने पाँच विद्यालयलाई कारबाहीको तयारी « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

बढी शुल्क लिने पाँच विद्यालयलाई कारबाहीको तयारी



काठमाडौँ । आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागले अनुगमनका क्रममा बढी शुल्क लिएको पाएपछि काठमाडौँ उपत्यकाका पाँच विद्यालयलाई कारवाही गर्ने भएको छ ।

ललितपुरका जेम्स विद्यालय धापाखेल, प्रिमियर इन्टरनेशनल विद्यालय सातदोबाटो, युलेन्स एजुकेशन फाउण्डेशन खुमलटार, रातो बंगला पाटन र द चाँदबाग विद्यालय काठमाडौँ बाँसबारीलाई कारवाही प्रक्रिया अघि बढाउन तयारी भइरहेको विभागले जनाएको छ । अनुगमनका क्रममा ती विद्यालयले बढी शुल्क लिएकोे पाइएकाले मुद्दा दर्ताका लागि सरकारी वकिलको कार्यालयमा सूची पठाउन लागिएको विभागका शाखा अधिकृत दीपकराज पोखरेलले जानकारी दिए  ।

केही वर्षदेखि खाद्य वस्तुको मात्र अनुगमन गर्दैआएको विभागले पछिल्लो समय यातायात, भवन निर्माणका सामग्री र विद्यालयको समेत अनुगमन गर्दै आएको छ । विभागले गत पुस पहिलो सातादेखि शुरु गरेको निजी विद्यालय अनुगमनका क्रममा काठमाडौँ उपत्यकाका १५ विद्यालयको अनुगमन गरिसकेको छ । अनुगमन गरिएका दश विद्यालयको व्यवस्थापन पक्षका बारेमा थप अनुसन्धान भइरहेको छ ।

थप अनुसन्धानका क्रममा केही कमजोरी देखापरेमा ती विद्यालयमाथि समेत कारवाही प्रक्रिया अघि बढाइने विभागले जनाएको छ । विभागले अहिले पनि बजार अनुगमनलाई निरन्तरता दिइरहेको छ । लामो समयको अनुगमनपछि ती क्षेत्रमा केही सुधार आएको विभागको जिकिर छ ।

प्रकाशित : २३ फाल्गुन २०७४, बुधबार १५:१०