चौबिस वर्षमा सिउँदो पुछिएपछि जुत्ता सिलाएर आत्मनिर्भर बन्दै देवी « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

चौबिस वर्षमा सिउँदो पुछिएपछि जुत्ता सिलाएर आत्मनिर्भर बन्दै देवी

प्रकाशित मितिः १ असार २०७९



–कविता उपाध्याय

रोल्पा । बाबुआमाको खुशीका लागि १६ वर्षको कलिलो उमेरमा डोली चढेकी साविकको रामपुर गाविस–२ दाङकी देवी नेपालीको २४ वर्षको उमेरमा सिउँदो पुछियो ।

आम मानिसमा जस्तै जिन्दगी रंगीन बनाउने सपना उनमा पनि थिए । तर छोरी भएकै कारण देवीले आफ्ना लागिभन्दा पनि परिवारको खुशीका लागि समर्पित हुनुपथ्र्याे । अभाव र गरिबीका कारण ४ कक्षाको पढाइलाई बीचमै रोकेर घरधन्दामा लागेकी देवी चाहेर पनि केही गर्न सक्दिनथिइन ।

जिन्दगी नितान्त आफ्नो थियो तर देवी सधैँ अरुकै लागि बाँचिरहनु प¥यो । जबर्जस्ती डोली चढेकी देवीको जबर्जस्ती सिउँदो पुछियो । उहाँले परिवारको खुशीका लागि सधैँ आफ्ना खुशी सुम्पँदै जानुपरेको बताइन  ।

विसं २०५८ मा १६ वर्षीया देवी नेपालीको तुलसीपुर नगरपालिका–९ बेलुवा दाङका २३ वर्षीय चित्रबहादुर बस्यालसँग मागी विवाह भएको थियो । विवाहपछि जिन्दगीका सुन्दर सपना बोकेर नवविवाहित जोडी छाला जुत्ताको पसल सञ्चालन गर्न रोल्पा आएको थियो ।

रोल्पामा छाला जुत्ताको व्यवसाय सन्तोषजनक रुपमा सञ्चालन भयो । देवीका अनुसार उहाँले घरधन्दा गर्नुहुन्थ्यो, उनका श्रीमान् पसल सञ्चालन गर्थे। पसलबाट राम्रै तरिकाले दैनिकी चलिरहेका बेला देवीको जीवनमा अकस्मात् ठूलो बज्रपात भयो । आफन्त भेट्न दाङ गएका बस्यालको मोटरसाइकल दुर्घटनामा परी निधन भयो ।

श्रीमान्को निधनको खबरले देवीलाई मर्माहत मात्र बनाएन उनमा जिम्मेवारी पनि थपियो । यतिबेला देवी दुई सन्तानकी आमा बनिसक्नु भएको थियो । श्रीमान्को निधन हुँदा देवीको नत आर्थिक अवस्था सवल थियो न हातमा कुनै किसिमको सीप थियो जसका कारण श्रीमान्को काजकिरिया सकेर देवी आफन्तको साथमा पुनः रोल्पा फर्किइन ।

शुरुशुरुका दिनमा देवीको धेरै आँशु बग्यो । काखका सन्तानले बाबा खै भनेर प्रश्न गर्दा धेरैपटक उहाँ बीचबाटोमै भक्कानिनुभएको थियो । कतिपटक त मध्यरातमा छिमेकीले ढोका खोलेर देवीका आँशु पुछेको उहाँले अझै भुल्नु भएको छैन । तर यसरी सधैँ रोएर बिलौना गरेर आफूलाई कमजोर बनाउनुभन्दा बरु केही गर्छु भन्ने धारणाको विकास भएपछि उहाँले श्रीमान्ले गर्दै आएको कामलाई निरन्तरता दिन थालेको बताइन  ।

उनलाई शुरुशुरुमा श्रीमान्ले मजधारमा ल्याएर छोडेको पसल सञ्चालन गर्न निकै गाह्रो भयो । तर विस्तारै उहाँको क्षमतामा विकास हुँदै गएपछि व्यापार राम्रो चलेको देवीले बताइन । यसले विस्तारै उहाँको जीवनस्तरमा पनि सकारात्मक परिवर्तन हुन थाल्यो । तर दुःखको कुरा श्रीमान्को निधन भएको करिब एक महिना नपुग्दै रु साढे दुई लाखको तमसुकसहित साहु आएपछि उहाँ थप चिन्तित बन्नुभएको थियो । तर पनि करिब एक वर्ष नपुग्दै उहाँले श्रीमान्ले लगाएको ऋण चुक्ता गरिन ।

“शुरुशुरुमा धेरै रोएँ केही जान्दैनथेँ, कसैसँग बोल्न पनि आउँदैनथ्यो । जुत्ता तथा पसलमा भएका अन्य सामग्रीको मूल्य पनि थाहा थिएन । तर केही गर्छु भन्ने हिम्मत आएपछि सबै सहज बन्दै गयो” उनले भनिन ।

करिब रु दुई लाखबाट सञ्चालन भएको व्यवसाय हाल रु आठ लाख बराबरको पुगिसकेको छ । उनका दुवै छोरा सदरमुकामकै विद्यालयमा कक्षा ४ र कक्षा १ मा अध्ययनरत छन् । सम्पूर्ण घरखर्च कटाएर मासिक रु २०÷२२ हजार बचत हुँदै आएको छ भने उनले कोहलपुरमा एउटा घडेरीसमेत लिइसकेकि छिन ।

“आफूलाई नीला ड्रेस लगाएर झोला बोकेर विद्यालय जाने रहर थियो पूरा हुन सकेन, अब यिनै छोरालाई पढाएर आफ्नो रहर पूरा गर्छु” उनले भनिन । सधैँ परनिर्भर बन्दै आएकी देवीलाई आफैँले कमाएर खर्च गर्न पाउँदाको मज्जा बेल्दै लाग्न थालेको छ । “समाजमा धेरै दिदीबहिनी आँशुमै डुबेर बाँचिरहेकि छिन् ।  उनिहरुलाई पनि जीवनमा केही गरेर आत्मनिर्भर बन्न सल्लाह दिन्छु” देवीले भनिन।

कठिन परिस्थितिसँग डराएर होइन हिम्मत गरेर अघि बढ्न सके सफल भइदो रहेछ भन्ने राम्रो उदाहरण बन्न सफल हुनुभएको छ, देवी । यसै कुरालाई मध्यनजर गर्दै महिला तथा बालबालिका कार्यालय, रोल्पाले महिला दिवसका अवसरमा आज देवीलाई रु पाँच हजार नगद प्रमाणपत्र र दोसल्लासहित सम्मान गर्दैछ ।रासस

प्रकाशित : २४ फाल्गुन २०७४, बिहीबार १०:४८