भोलिदेखि २० वर्ष पुराना गाडी चलाउन नपाइने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

भोलिदेखि २० वर्ष पुराना गाडी चलाउन नपाइने



काठमाडौं। सरकारले आगामी चैत १ देखि मुलुकभर २० वर्षभन्दा पुराना गाडी चलाउन नदिने भएको छ । पुराना गाडीले प्रदूषण बढाएको भन्दै हटाउने निर्णय लिएको छ ।

गत वर्ष फागुनमै यस्ता गाडी हटाउने निर्णय भए पनि पूरै कार्यान्वयनमा आउन सकेको थिएन । काठमाडौंबाट विस्थापित गाडी उपत्यकाबाहिर सञ्चालनमा छन् ।

यातायात व्यवस्था विभागले अब मुलुकभरिबाटै २० वर्ष पुराना गाडी हटाइने जनाएको छ । आजको कान्तिपुर दैनिकमा खबर छ ।

पहिलो चरणमा गाडी धनीलाई चेसिज, इन्जिन बुझाएर पुराना गाडी ‘पत्रु’ गर्न अनुरोध गरिसकिएको विभागका निर्देशक तुलसीराम पौडेलले बताए । ‘तर, अहिलेसम्म कसैले बुझाएका छैनन्,’ उनले भने, ‘चैत १ देखि ट्राफिक प्रहरीसँग समन्वय गरेर पुराना गाडी नियन्त्रणमा लिन्छौं ।’

मुलुकभरका यातायात कार्यालयलाई पुराना गाडी नियन्त्रणमा लिन निर्देशन दिइसकेको पौडेलले बताए । सामान्यतस् गाडीको आयु २० वर्ष मानिने भएकाले विभागले सञ्चालन अनुमति पनि त्यति अवधिलाई नै दिन्छ ।

बीस वर्ष नाघेका गाडीको यकिन संख्या विभागसँग पनि छैन । ‘५५ सय रहेको अनुमान गरेका छौं,’ निर्देशक पौडेलले भने । प्रदूषण बढाउने, खर्चिलो हुने, दुर्घटना बढाउने भएकाले पुराना गाडी हटाउनुको विकल्प नभएको उनले बताए ।

उपत्यकालगायत सहरी क्षेत्रमा प्रदूषण मात्रा उच्च छ । उपत्यकामा वायु प्रदूषणको मुख्य कारक सवारीबाट निस्कने धूलो र धूवाँ रहेको वातावरण विज्ञको भनाइ छ । उनीहरूका अनुसार सवारीबाट हुने प्रदूषणमा पनि पुरानाको प्रभाव बढी छ ।

प्रकाशित : ३० फाल्गुन २०७४, बुधबार ११:२३