रसुवागढी र साञ्जेनको सीमित आइपिओमा छ गुणा बढी आवेदन « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

रसुवागढी र साञ्जेनको सीमित आइपिओमा छ गुणा बढी आवेदन



रमेश लम्साल

काठमाडौँ – रसुवागढी र साञ्जेन जलविद्युत् आयोजनाको सीमित साधारण शेयर (आइपिओ)मा छ गुणा बढी आवेदन परेको छ ।

कम्पनीले गत फागुन ११ देखि ३० गतेसम्म सीमित आइपिओ बिक्री गरेको थियो । रसुवागढी जलविद्युत् कम्पनीका प्रमुख माधव कोइरालाका अनुसार कूल रु छ अर्ब ६२ करोड आठ लाख बराबरको आवेदन परेको जानकारी दिनुभयो । एक लाख ८६ हजार ३२४ जनाले आवेदन गरेको जानकारी प्राप्त भएको प्रमुख कोइरालाले बताउनुभयो ।

उहाँले भन्नुभयो, “केही बैंक तथा वित्तीय संस्थाले अझै विवरण बुझाउन बाँकी रहेको भन्ने जानकारी आएको छ । केही संख्या अझै बढ्न सक्छ ।” 

कम्पनीले रु एक अर्ब ६४ करोड बराबरको साधारण शेयर निष्काशन गरेको थियो । त्यसमध्ये कर्मचारी सञ्चय कोषका सञ्चयकर्ताका लागि रु एक अर्ब ३३ करोड ४२ लाख हजार बराबरको एक करोड ३३ लाख ४२ हजार ९५ कित्ता शेयर छुट्याइएको थियो ।

कम्पनीका संस्थापक संस्थाका लागि भने यही चैत ५ देखि १३ गतेसम्म आवेदन दिने व्यवस्था मिलाइएको छ । कम्पनीको संस्थापक संस्थामा नेपाल विद्युत् प्राधिकरण, चिलिमे जलविद्युत् कम्पनी र रसुवा जिल्लाका साविक गाउँ विकास समिति र जिल्ला विकास समितिका कर्मचारीलाई रु २३ करोड ९४ लाख ७३ हजार ५०० बराबरको २३ लाख ९४ हजार ७३५ कित्ता शेयर बिक्री गर्नेछ ।

रसुवागढीको शेयरमा कोषका करिब आठ लाख ६८ हजार ३९५ सञ्चयकर्ताले आवेदन दिन पाउने व्यवस्था थियो । जति संख्यामा आवेदन पर्ने अपेक्षा गरिएको थियो त्योअनुसार सञ्चयकर्ताले भने आवेदन नदिएको बताइएको छ । रसुवागढीको सीमित आइपिओमा सञ्चयकर्तालाई न्यूनतम ५० कित्ता र अधिकतम ५०० कित्तासम्म आवेदन दिन पाउने व्यवस्था गरिएको थियो ।

आयोजनाका प्रमुख कोइरालाले भने सिआश्वा प्रणाली लागू भएका कारण धेरै सञ्चयकर्ताले आवेदन दिन नपाए पनि उल्लेख्य आवेदन परेको जानकारी दिनुभयो । रसुवामा आयोजनास्थल रहेको रसुवागढी जलविद्युत् आयोजना १११ मेगावाट क्षमताको हो ।

यस्तै साञ्जेन जलविद्युत् कम्पनीको रु चार अर्ब १७ करोड २२ लाख ५३ बराबरको आवेदन परेको छ । कम्पनीका प्रमुख किरण श्रेष्ठका अनुसार एक लाख ८३ हजार २३५ जनाले आवेदन दिएका छन् ।

कम्पनीले सञ्चयकर्ताका लागि रु ७१ करोड १७ लाख ५० हजार बराबरको ७१ लाख १७ हजार ५०० कित्ता शेयर छुट्याएको थियो । सञ्चयकर्ताले न्यूनतम ५० कित्ता र अधिकतम ३०० कित्तासम्म आवेदन दिन पाउने व्यवस्था गरिएको थियो ।

कम्पनीले रसुवामा १४ दशमलव ८ मेगावाट क्षमताको माथिल्लो साञ्जेन र ४२ दशमलव ५ मेगावाट क्षमताको साञ्जेन आयोजना निर्माण गरिरहेको छ । सो कम्पनीको शेयरमा सात लाख २९ हजार ७६१ सञ्चयकर्ताले आवेदन दिन पाउने व्यवस्था थियो ।

कम्पनीको संस्थापक शेयरधनी संस्थाका कर्मचारीलाई रु १२ करोड ७७ लाख ५० हजार बराबरको शेयर छुट्याइएको प्रमुख श्रेष्ठले जानकारी दिनुभयो । संस्थापक संस्थाका कर्मचारीले न्यूनतम ५० कित्ता अधिकतम ३०० कित्तासम्म आवेदन दिन सक्नेछन् ।

सञ्चय कोषका कर्मचारीले न्यूनतम ५० कित्ता र अधिकतम एक हजार कित्तासम्म शेयरमा आवेदन दिन सक्ने छन् । उनीहरुका लागि रु ३ करोड ६५ लाख बराबरको शेयर छुट्याइएको छ । संस्थापक संस्थाका कर्मचारी र ऋणदाता संस्थाका कर्मचारीले यही चैत ५ देखि १३ गतेसम्म आवेदन दिन पाउने व्यवस्था गरिएको छ । दुवै कम्पनी चिलिमे जलविद्युत् कम्पनीका सहायक कम्पनी हुन् ।

हालसम्म माथिल्लो साञ्जेनको ६८ प्रतिशत र साञ्जेनको ५८ प्रतिशत काम सकिएको छ । माथिल्लो साञ्जेनबाट अप्रिल २०१९ बाट विद्युत् उत्पादनको लक्ष्य राखिएको छ । यस्तै रसुवागढी जलविद्युत् आयोजना सन् २०१८ को डिसेम्बरमा निर्माण सक्ने लक्ष्य राखिएको छ ।

प्रकाशित : १ चैत्र २०७४, बिहीबार १७:०२