आइएमई र मुथुत फाइनान्सद्वारा भारत–नेपाल रेमिटेन्स सेवा शुरु « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

आइएमई र मुथुत फाइनान्सद्वारा भारत–नेपाल रेमिटेन्स सेवा शुरु



काठमाडौं । नेपाल स्थित आइएमई लिमिटेड र भारत स्थित मुथुत फाइनान्सले यही २०७४ साल चैत्र १ गतेदेखि भारत–नेपाल रेमिटेन्स सेवा शुरुवात गरेका छन् । यस सेवाको प्रारम्भसँगै विभिन्न उद्देश्यले भारतमा रहँदै आएका लाखौँ नेपाली नागरिकले मुथुत फाइनान्सका ४ हजार ६ सय शाखाबाट नेपालमा पैसा पठाउन सक्नेछन् ।

यसरी पठाएको रकम नेपालमा रहेका ७ हजार १ सय भन्दा बढी आइएमई एजेन्ट आउटलेटबाट सम्बन्धित व्यक्तिद्वारा सजिलै भुक्तानी लिन सकिनेछ । नगद भुक्तानी सेवाका अतिरिक्त सम्बन्धित व्यक्तिको बैंक खातामा जम्मा गर्ने सुविधा पनि प्राप्त गर्न सकिनेछ । नेपालस्थित ग्लोबल आइएमई बैंक लिमिटेड र भारतस्थित आरबीएल बैंक यो सेवाका लागि बैंकिंग साझेदार संस्था हुनेछन् ।

भारत–नेपाल रेमिटेन्स सेवा शुभारम्भ कार्यक्रममा भारतस्थित मुथुत फाइनान्सका तर्फबाट प्रवन्ध निर्देशक जर्ज एलेक्जेन्डर मुथुत, प्रमुख महाप्रबन्धक के.आर.बिजिमोन र नेपालस्थित आइएमईका तर्फबाट ब्यापार प्रवद्र्धन प्रमुख सुभास तामाङ्ग लगायत मुथुत फाइनान्सका बरिष्ठ प्रबन्धक जयदीप मेनन र कन्सलट्यान्ट गौतम नैथानी लगायत दुवै संस्थाका उच्च अधिकारीहरुको सहभागिता रहेको थियो ।

 

कार्यक्रमलाई सम्बोधन गर्दै मुथुत फाइनान्सका प्रमुख महाप्रबन्धक बिजिमोनले, नेपालको पहिलो र ठुलो रेमिटेन्स कम्पनी आइएमईंसँगको सम्झौतापछि भारतमा रहेका करिब ५० लाख नेपालीहरूले आर्जन गरेको रकम नेपालमा रहेका तिनका परिवार र आफन्तलाई भुक्तानी गर्न सजिलो हुने विश्वास व्यक्त गर्नुभयो । “आइएमई र मुथुत फाइनान्सको सहकार्यपछि भारतमा रहँदै आउनुभएका लाखौँ नेपालीहरुलाई सहजै नेपाल पैसा पठाउने ढोका खुल्ला भएको छ” भन्दै आइएमईका प्रतिनिधि सुभास तामाङ्गले आइएमई र मुथुत फाइनान्स बिच भएको सहकार्यले गर्दा भारतबाट नेपालमा पैसा पठाउन अत्यन्त सहज हुने विश्वास व्यक्त गर्नुभयो । “आइएमई र मथुतबीचको सहकार्यले इण्डो–नेपाल रेमिटेन्स सेवालाई थप विविधिकृत बनाउन ठूलो मदत पुग्नेछ,” भन्ने धारणा समेत तामाङ्गले व्यक्त गर्नुभयो ।

नेपालस्थित आइएमई लिमिटेड र भारतस्थित मुथुत फाइनान्सबीच गत मङ्गसिर महनिामा रेमिटेन्स सम्झौता भएको थियो । मुथुत फाइनान्सका तर्फबाट प्रमुख महाप्रबन्धक के. आर. बिजिमोन र आइएमई लिमिटेडका तर्फबाट प्रमुख सञ्चालन अधिकृत खिलेन्द्र पौडेलले उक्त सम्झौता–पत्रमा हस्ताक्षर गर्नुभएको थियो ।

प्रकाशित : १ चैत्र २०७४, बिहीबार १७:४०