काँग्रेस नेतृत्वलाई सच्चिन सिटौला आग्रह,जोखिम मोलेर भए पनि बोल्नुपर्छःथापा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

काँग्रेस नेतृत्वलाई सच्चिन सिटौला आग्रह,जोखिम मोलेर भए पनि बोल्नुपर्छःथापा



काठमाडौँ । नेपाली काँग्रेसका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले पार्टीमा गलत प्रवृत्ति हाबी हुँदै गएको भन्दै पार्टीमा आमूल परिवर्तनको आवश्यकता रहेको बताएका छन् ।

पार्टीको १३ औँ महाधिवेशनबाट अस्तित्वमा देखिएको सिटौला समूहका आयोजित नेता कार्यकर्ता भेलामा उनले निर्वाचनपछिको अवस्थामा काँग्रेसले नयाँ मार्गचित्रका साथ अघि बढ्नुको विकल्प छैन भने ।

नेता सिटौलाले पार्टीभित्र अहिले पनि सामन्ती संस्कार कायम रहेको बताउँदै “यसलाई हटाउन पार्टीमा व्यावहारिक रुपमा लोकतान्त्रिक संस्कार निर्माण गर्नु जरुरी छ,” भने ।

वर्तमान सरकारबाट सर्वसत्तावाद लागू गर्ने संकेत देखिन थालेको बताउँदै उहाँले त्यसलाई रोक्न सशक्त र बलियो काँग्रेसको आवश्यकता औँल्याए । आफू सही बाटोमा नहिँडी अरुलाई सही बाटोमा हिँडाउन नसकिने नेता सिटौलाको तर्क थियो ।

कार्यक्रममा काँग्रेस केन्द्रीय सदस्य गगनकुमार थापाले पार्टी सुधारका लागि जोखिम मोलेर भए पनि बोल्नुपर्ने र दबाब दिने बेला आएको उल्लेख गर्दै अन्यथा थप मूल्य चुकाउनुपर्ने धारणा व्यक्त गरे ।

उनले निर्वाचनमा काँग्रेसले हार व्यहोरे पनि नयाँ संविधानमार्फत मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्र संस्थागत गरेर राजनीतिक मुद्दा जितेको जिकिर गरे ।

काँग्रेस केन्द्रीय सदस्य उमाकान्त चौधरीले पार्टीको टिकट वितरणमा पैसावाल र व्यापारी हाबी भएकोप्रति चिन्ता व्यक्त गर्दै पार्टीमा योगदान गरेका र दुःख पाएका कार्यकर्ता कहाँ जाने भनी प्रश्न गरे ।

नेता चौधरीले हिजोका दिनमा नाकाबन्दी लगाउन सहयोग गर्ने र नाकाबन्दीको घोर विरोध गर्नेहरु आज एक भएको प्रसंग उल्लेख गर्दै वर्तमान सरकार खिचडी गठबन्धनको सरकार भएको आरोप लगाए ।

पार्टी केन्द्रीय सदस्य प्रदीप पौडेलले पार्टीमा व्यक्ति नभई विधान प्रधान हुनुपर्ने बताउँदै पार्टी सुधारका लागि संगठन सुदृढीकरणको आवश्यकता रहेको बताए । उनले भने , “काँग्रेस सुध्रिएर सच्चियो भने काँग्रेसलाई कसैले हराउन सक्दैन ।”

काँग्रेस समूहका भेला बढ्दै

काँग्रेसमा रहेका विभिन्न समूहले निर्वाचनपछि आफ्ना भेला तथा छलफललाई तीव्रता दिएका छन् । बिहीबारमात्रै वरिष्ठ नेता रामचन्द्र पौडेल समूहका नेता कार्यकर्ता भेला भई पार्टी कमजोर भएको भन्दै कसरी बलियो बनाउने भन्ने सम्बन्धमा छलफल गरेका थिए ।

भेलामा गाउँस्तरमा पार्टीको संरचना कसरी बलियो बनाउने, यही चैत ९ गते बस्ने केन्द्रीय कार्यसमिति बैठकमा छलफल गर्ने विषयका बारेमा समेत छलफल भएको नेता नवीन्द्रराज जोशीले जानकारी दिनुभयो ।

निर्वाचन परिणामको विषयलाई लिएर काँग्रेसमा आरोप प्रत्यारोप जारी छ । मंसिर १० र २१ गते दुई चरणमा सम्पन्न भएको प्रतिनिधिसभा सदस्यको निर्वाचनमा काँग्रेसले अनपेक्षित परिणाम व्यहोरेको थियो ।

उक्त निर्वाचनमा काँग्रेसले १६५ निर्वाचन क्षेत्रमध्ये २३ स्थानमा मात्र जित हासिल गरेको थियो । काँग्रेस केन्द्रीय कार्यसमितिमा निर्वाचनपछि परिणामका बारेमा विस्तृत रुपमा समीक्षा हुन सकेको छैन । त्यसका लागि यही चैत ९ गते केन्द्रीय कार्यसमितिको बैठक बोलाइएको छ ।

पार्टीको १३औँ महाधिवेशनमा वर्तमान सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता पौडेल र नेता सिटौला तीन समूह बनाएर निर्वाचनमा होमिनुभएको थियो । त्यसपछि यी तीन समूह पार्टीमा सतही रुपमा देखिएका हुन् ।

प्रकाशित : २ चैत्र २०७४, शुक्रबार १३:५०