मुआब्जा विवाद मिलेपछि ठेउलेखोला सञ्चालन « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

मुआब्जा विवाद मिलेपछि ठेउलेखोला सञ्चालन



बागलुङ । जैमिनी नगरपालिकास्थित ठेउलेखोला जलविद्युत् आयोजनाको मुआब्जा विवाद सुल्झेको छ । आयोजना व्यवस्थापन र प्रभावित क्षेत्रका जग्गाधनीबीच सहमति जुटेपछि आयोजनाको काम सञ्चालन भएको हो ।

जग्गाधनी खगेश्वर शर्माले मुआब्जा माग गर्दै अवरोध सिर्जना गरेपछि आयोजनाको काम प्रभावित भएको थियो । आयोजना व्यवस्थापनले शर्माले माग गरेअनुसारको मुआब्जा दिन नसकिने बताउँदै आएको थियो । शर्माले रु एक करोड पाँच लाख मुआब्जा माग गर्दै अाएका छन् ।

जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय र जैमिनी नगरपालिकाको रोहबरमा दुबै पक्षबीच सहमति जुटेको हो । सहमतिअनुसार शर्माले रु ६० लाख मुआब्जा पाउनुहुने भएको छ । यस्तै आयोजना बनाउदा क्षति पुगेका संरचना निर्माणको काम पनि आयोजना व्यवस्थापनले गर्ने सहमतिमा उल्लेख छ ।

शर्माको चार रोपनी जग्गा आयोजनाबाट प्रभावित भएकामा दुई रोपनी ११ आना जग्गामा पाइपलाइन विछ््याइएको छ । मुआब्जा विवाद चर्कदैँ गएपछि जिल्ला प्रशासन कार्यालयले विवाद समाधानका लागि स्वतन्त्र समितिसमेत बनाएको थियो । सोही समितिले तयार गरेको क्षतिपूर्ति मूल्यांकन प्रतिवदेनका आधारमा मुआब्जा दिने निर्णय भएको हो । लामो प्रयासपछि विवाद मिलेको निर्माण कम्पनी बाराही हाइड्रोपावर लिमिटेडका अध्यक्ष एवं इञ्जिनियर सूर्यप्रसाद अधिकारीले बताए ।

सहमति लगत्तै आयोजनाको बाँकी काम शुरु भएको उनको भनाइ छ । “विवादित जग्गामा पाइपलाइन जोड्न बाँकी थियो ” अध्यक्ष अधिकारीले भने –“एक÷दुई दिनमै काम सकेर परीक्षण उत्पादन शुरु गर्छौं । यही चैत १५ गतेदेखि आयोजनाबाट व्यावासियक विद्युत् उत्पादन शुरु हुने छ ।” जग्गाको मुआब्जा विवादका कारण फागुनभित्रै नियमित विद्युत् उत्पादन शुरु गर्ने तयारी प्रभावित भएको थियो । यसअघि निर्माण कम्पनीले आयोजनास्थलको ३२ रोपनी जग्गाको मुआब्जा रु ९२ लाख वितरण गरिसकेको छ ।

रु ३३ करोडको लागतमा बनेको साढे एक मेगावाटको आयोजनाले जिल्लाभरको एक तिहाई विद्युत् मागलाई धान्ने जनाइएको छ । नगरपालिका–१ कुश्मीसेरा र ४ सर्कुवास्थित ठेउलेखोलाको पानीलाई दुई हजार ७०० मिटरको ‘पेनस्टक’ पाइपमार्फत् वार्ड नं ५ बिनामारेस्थित विद्युत्गृहमा पु¥याइएको छ । आयोजनामा प्रभावित क्षेत्रका स्थानीयवासीको समेत १० प्रतिशत संस्थागत शेयर छ ।

प्रकाशित : २ चैत्र २०७४, शुक्रबार १४:२७