इलामलाई पर्यटकीयस्थलको विकासको माग « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

इलामलाई पर्यटकीयस्थलको विकासको माग



इलाम । इलामको प्रमुख पर्यटकीयस्थल सन्दकपुरको पर्यटन विकासका लागि स्थानीयवासीले पूर्वप्रधानमन्त्री झलनाथ खनालसँग माग राख्दै सोमबार ज्ञापनपत्र पेश गरेका छन् ।

सन्दकपुर गाउँपालिका–२ मा रहेको सन्दकपुर पर्यटकीय क्षेत्रमा वार्षिक एक लाख पर्यटक आउने गरे पनि पूर्वाधार नहुँदा पर्यटकीय क्षेत्रको विकास नहुने भन्दै स्थानीयवासीले खनाललाई ज्ञापनपत्र बुझाएका हुन् ।

खनाललाई सन्दकपुर गाउँपालिकाका जनप्रतिनिधिले सन्दकपुर पर्यटकीय क्षेत्रमा बाह्रै महिना गाडी गुड्ने सडक, खानेपानी, विद्युत् र सीमा सुरक्षा बलको कार्यालय स्थापनाको माग गर्दै ज्ञापनपत्र बुझाएको गाउँपालिका अध्यक्ष उदय राईले बताए ।

नेपाल–भारतको सीमा क्षेत्रमा रहेको सन्दकपुर पर्यटकीय क्षेत्रमा लोपोन्मुख वन्यजन्तु, जडीबुटी र हिमशृङ्खलाको दृश्यावलोकनका लागि सयौँ पर्यटक आउजाउ गर्दै आएका छन् ।

ज्ञापनपत्र बुझ्दै पूर्वप्रम खनालले पर्यटकीय क्षेत्रको विकासका लागि आफूले स्थानीय तहदेखि केन्द्रीय तहसम्म पहल गर्ने प्रतिबद्धतासमेत जनाए ।

किसानलाई निःशुल्क बीउ वितरण

फाकफोकथुम गाउँपालिकाको कार्यालयले यहाँका कृषकलाई निःशुल्क बीउ वितरण गरेको छ ।

गाउँपालिकाले कृषकलाई उन्नत जातको मकै, तरकारीको बीउ वितरण गरेको हो । यहाँका सात वटै वडामा कार्यालयले ७५ प्रतिशत अनुदानमा प्लाष्टिक घर निर्माण, स्पेयर मेशिन, स्प्रिङ्कल वितरण गरेको गाउँपालिका कृषि शाखाका प्रमुख कुशेश्वर यादवले बताए ।

कार्यालयले १० क्विन्टल मकै, ४०० पोका तरकारीको बीउ, ५०० प्याकेट च्याउको बीउ वितरण गरिएको उहाँले जानकारी दिनुभयो । बीउ निःशुल्क पाएपछि यहाँका कृषक खुशी भएका छन् । बीउ पाएपछि किसान खेती लगाउन व्यस्त भएका छन् ।

कार्यालयले विभिन्न सहकारी तथा कृषक समूहमार्फत किसानलाई बीउ उपलब्ध गराएको हो । गतवर्ष जिल्लाबाट कृषि सेवा केन्द्रमार्फत थोरै–थोरैमात्र बीउ पाउने गरे तापनि यसपालि भने सोझै गाउँबाट विभिन्न प्रकारका बीउबिजन पाएपछि कृषक हर्षित भएका छन् ।

प्रकाशित : ६ चैत्र २०७४, मंगलवार १४:३९