दोस्रो सहकारी महासम्मेलन चैत २१ गते, यस्ता छन अाकर्षण « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

दोस्रो सहकारी महासम्मेलन चैत २१ गते, यस्ता छन अाकर्षण



काठमाडौं । नेपालको सहकारी अभियानको हालसम्म भएका उपलब्धीहरुको समीक्षा गर्दै आगामी ५ वर्षका लागि दिशानिर्देश गर्ने उद्देश्यका साथ सहकारी अभियानको शीर्षस्थ निकाय राष्ट्रिय सहकारी महासंघ नेपाल र कृषि भूमि ब्यवस्था तथा सहकारी मन्त्रालयको संयुक्त आयोजनामा ‘दिगो विकास लक्ष्य प्राप्तिका लागि सहकारी’ भन्ने अभियानका साथ चैत २१ र २२ गते काठमाडौंमा दोस्रो सहकारी महासम्मेलन हुने भएको छ ।

सम्मेलनले कृषि तथा गैर कृषि क्षेत्रको विकास, पूँजी निर्माण, सामाजिक एकीकरण, नेतृत्व विकास, लैंगिक समानता र उद्यमशीलताको विकासका साथै गरीबी न्यूनीकरणमा योगदान पु¥याउने उद्देश्य लिएको छ । एक वर्षअघि नै हुन लागेको सो सम्मेलनमा यस वर्ष भारत, चीन, जापान, दक्षिण कोरिया, मलेसिया, सिंगापुर, श्रीलंका, पाकिस्तानलगायत मुलुकका सहकारी अभियानकर्मीको सहभागिता रहने छ ।

यस अघि पहिलो राष्ट्रिय सहकारी महासमेलन २०७० को चैत ११ देखि १३ सम्म काठमाडौंमा भएको थियो ।

राष्ट्रिय सहकारी महासंघका अध्यक्ष केशवप्रसाद बडालले सहकारी आन्दोलनमा भएका उपलब्धिको समीक्षा र संस्थागत गर्ने उद्देश्य तथा संविधान कार्यान्वयनमा सहकारीलाई जिम्मेवारी एवं जवाफदेही बनाउने सम्मेलनको उद्देश्य रहेको जानकारी दिए ।

नेपालको संविधानले जनताको जीवनस्तर उकास्न सहकारीलाई अर्थतन्त्रको प्रमुख आधार मानेको छ । समाजवादउन्मुख अर्थतन्त्रलाई स्वीकार गरेको संविधानले निजी, सार्वजनिक र सहकारीलाई तीनखम्बे अर्थनीतिका रुपमा परिभाषित गरेको छ ।

सम्मेलनमा अन्तर्राष्ट्रिय सहकारी महासंघका अध्यक्ष एरियल ग्वार्कोको सम्बोधन, देशविदेशका विभिन्न विषयका विशेषज्ञका ११ कार्यपत्र प्रस्तुति, दिगो विकासका सन्दर्भमा संयुक्त राष्ट्रसंघीय विकास कोष, अन्तर्राष्ट्रिय श्रम संगठनलगायत संस्थाका प्रतिनिधिका मन्तव्यसमेत रहने बिहिबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको छ । हाल मुलुकका ३४ हजार ५१२ सहकारी संस्थामा ६३ लाख नागरिक आबद्ध छन् ।

प्रकाशित : ८ चैत्र २०७४, बिहीबार २२:१६