बाम सरकारको कारण शेयर बजार धरापमा, बैंकलाई ब्रोकर लाइसेन्स दिन केन्द्रिय बैंक बाधक « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

बैंक / वित्त

बाम सरकारको कारण शेयर बजार धरापमा, बैंकलाई ब्रोकर लाइसेन्स दिन केन्द्रिय बैंक बाधक



काठमाडौ। बामसरकारको उच्च प्रथामिकतामा नपरेका कारण शेयर बजार धरापमा परेको लगानीकर्ताहरुले आरोप लगाएका छन् । नेपाल पूँजी बजार लगानीकर्ता संघ र नोबल ईनिसिएशन नेपालले आयोजना गरेको एक कार्यक्रममा बोल्दै लगानीकर्ताहरुले घट्दो शेयर बजार प्रति बामगठबन्धनको सरकार चिन्तित नभएको बताएका छन ।

शेयर लगानीकर्ता संघका अध्यक्ष उत्तम अर्यालले प्रधानमन्त्री ओली प्रति लगानीकर्ता निकै आशावादी रहे पनि लगानीकर्ताको चाहानामा तुषरापात भएको बताए ।

“ पुँजीको कुनै वाद हुँदैन,लगानीकर्ताले प्रतिफलका लागि लगानी गर्ने हो”अर्यालले भने–लगानीकर्ताले झन्डै सात अर्ब गुमाइसके पनि प्रधानमन्त्री र अर्थमन्त्री चुप बस्छन भने यो भन्दा नालायकीपन के होला ?” घट्दो बजारका बारेमा नियामक निकाय नेपाल धितो पत्र बोर्डले धारणा सार्वजनिक नगर्नुले आफुहरुलाई अविभावक बिनाको छोराछोरी बनाइएको समेत अर्यालले बताए ।

 

बाम गठबन्धनको सरकार सेयर बजारमा हुने सिण्डिकेट अन्त्य गर्न तयार छः देव गुरुङ

नेपाल इन्भेष्टर्स फोरमका उपाध्यक्ष छोटेलाल रौनियारले शेयर बजारमा समस्या आउनु बैंकहरुको चुक्ता पुँजी बढाउने निति रहेको बताए । “ पूँजी बढाउँदा मर्ज र एक्विजिसनमा गएर संख्या घट्ला भन्ने नियामक निकायको अपेक्षा रहेको थियो उनले भने – तर व्यवहारमा त्यसो हुन सकेन ।

” बैंक तथा वित्तीय संस्थाहरुल्े चुक्ता पुँजी पुर्याउनका लागि हकप्रद सेयरको साहरा लिए । तर नियामक निकायले हकप्रदमा अंकुश लगाएको भए यो समस्या आउने थिएन । ”

 


” पूँजी बजार घट्नु भनेको नियमित प्रकृया हो यो संसार भर हुन्छ, रौनियारले भने– तर अहिलेको घटाइ नियमित हैन । ” गभर्नरले हकप्रदमा अंकुश लगाउन नसक्दा खराब भन्दा खराब बैंकले पनि चुक्ता पुँजी पुर्याउन सफल भएको उनको दाबी छ ।

बीमा समितिले पनि जीवन बिमा कम्पनीलाई २ र निर्जीवन बिमा कम्पनीलाई १ अर्ब रुपैयाँ पुँजी पुर्याउन निर्देशन दियो । अब बिमा कम्पनीहरुले पनि चुक्ता पुँजी पुर्याउने हतियार हकप्रदलाई नै बनाइरहेका छन ।

नीति नियम परिर्वतनले बजार घटेको हैन

नेपाल स्टक एक्सचेन्ज (नेप्से)को प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदले सरकारले कुनै पनि नीति नियम परिर्वतन गरेको भरमा बजार नघटेको जिकिर गरेका छन् ।

“मार्केटमा सप्लाई बढी र डिमान्ड बढी भएकाले बजार अहिलेको अवस्थामा आएको हो, साउदले भने– घट्दो बजारमा लगानीकर्ताले राम्रो वित्तीय अवस्था भएका कम्पनी छानेर मात्र कारोबार गर्न सक्नुपर्छ ।

उनले अनलाइन प्रणालीलाई आफुले जति सक्दो चाडो ल्याउने प्रयासमा रहेको बताउदै आगामी आर्थिक बर्ष भित्र लागु गर्ने समेत प्रतिबद्धता जनाए ।

सक्ने ठाउमा काम गरेकै छौ, विज्ञप्ती निकाल्दैमा केही हुँदैन

नेपाल धितोपत्र बोर्डका कार्यकारी निर्देशक निरज गिरिले शेयर बजारमा देखिएको अस्वभाविक घटबढलाई लिएर चुप बस्न नसक्ने बताएका छन । “बोर्ड यो बिषयमा निकै संवेदनशिल छ, गिरीले भने– सक्ने ठाउमा गरेका छौ, विज्ञप्ती निकाल्दैमा बजार घटबढ हुनुपर्छ भन्ने मन्यता छैन ।”

लगानीमैत्री नीति  अावश्यक 

अर्थविद् जनक शाहले बर्तमान सरकारले पूँजी बजारलाई निरुत्साहित पार्ने काम गरे तीब्र आर्थिक विकास गर्ने उसको नारा कोरा कल्पना हुने बताएका छन् ।

वर्तमान सरकारले पूँजी बजारप्रति सकारात्मक धारणा  र लगानीमैत्री नीति बनाएर तत्काल समस्याको सम्बोधन गर्नुपर्ने र आफुले त्यसका लागि पहल गर्ने शाहले जानकारी दिए ।

वाणिज्य बैंकलाई ब्रोकर लाइसेन्स दिन केन्द्रिय बैंक बाधक

वाणिज्य बैंकलाई सेयर ब्रोकरको काम गर्न दिने गरी लाईसेन्स दिन नेपाल राष्ट्र बैंकका कारण अगाडी बढ्न नसकेको नियामक निकायहरुले नै आरोप लगाएका छन् ।

 नेपाल धितोपत्र बोर्डका  कार्यकारी निर्देशक निरज गिरी र नेप्सेका प्रमुख कार्यकारी चन्द्रसिंह साउदले राष्ट्र बैंककै कारण बाणिज्य बैंकलाई ब्रोकर लाईसेन्स दिन नसकिएको दावी गरे ।

नेप्सेका प्रमुख कार्यकारी चन्द्रसिंह साउदलले वाणिज्य बैंकलाई लाइसेन्स दिने कुरा नेप्सेसंग नरहेको बताउदै राष्ट्र बैंक संग नै छलफल चलिरहेको जानकारी दिए ।

कार्यकारी निर्देशक गिरीले भने – बिश्वब्यापी प्रचलन र नेपालका धितोपत्र सम्बन्धी प्रचलित ऐन अनुसार बाणिज्य बैंकलाई ब्रोकर लाईसेन्स दिन मिल्छ तर त्यसका लागि राष्ट्र बैंकको निर्णय अनिवार्य छ । नेप्सेले सिफारिस नै गरेको छ भने हामीले त झन् पहलै गर्दै आएका हौं, रोकिनुपर्ने कहीं छैन ।

प्रकाशित : ९ चैत्र २०७४, शुक्रबार ००:१८