पर्यटन क्षेत्र व्यवस्थित गर्न नयाँ आचारसंहिता « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

पर्यटन क्षेत्र व्यवस्थित गर्न नयाँ आचारसंहिता



 चितवन। चितवनको रत्ननगर नगरपालिकास्थित सौराहाको पर्यटन क्षेत्र व्यवस्थित गर्न व्यवसायीहरूले नयाँ आचारसंहिता निर्माण गरेका छन् ।

पर्यटकको सुरक्षा, अपराध न्यूनीकरण र पर्यटन क्षेत्रलाई शान्तिपूर्ण बनाउन आचारसंहिता बनाइएको रेष्टुरेण्ट एण्ड बार एशोसिएसन् नेपाल (रेवान) सौराहाका अध्यक्ष गोकर्ष गिरीले जानकारी दिए ।

उनका अनुसार सौराहाका होटल तथा रेष्टुरेन्ट गर्मीमा राति १२ बजेसम्म र जाडोमा ११ बजेसम्म खोल्ने गरी आचारसंहिता बनाइएको हो ।

आगामी वैशाख १ गतेदेखि लागू हुने उक्त १४ बुँदे आचार संहितामा वन्यजन्तुलाई असर गर्ने गतिविधि रोक्ने, ध्वनी प्रदूषण हुन नदिने, हर्न निषेध क्षेत्र घोषणालाई कार्यान्वयनमा ध्यान दिने, पर्यटकलाई दुव्र्यवहार हुनबाट जोगाउने लगायतका छन् ।

यस्तै पर्यटक हिँड्ने बाटोमा पार्किङमा रोक लगाउने, होटलमा आउने पर्यटकको विवरण भरेर राख्ने, वातावरणलाई शान्त राख्नेलगायतका कुरा आचारसंहितामा उल्लेख छ ।

यसअघि पनि  पटक/पटक आचारसंहिता बनाइए पनि राम्ररी कार्यान्वय हुन नसकेकाले यस पटक भने आचारसंहितामा कडाइ गरिने रेवानका निवर्तमान अध्यक्ष तथा रत्ननगर नगरपालिका– ७ का अध्यक्ष राजन भट्टले बताए ।

व्यवसायीले आचारसंहिता पालन गरे नगरेको बारेमा अनुगमनका लागि स्थानीय प्रशासनलाई अनुरोध गरिको छ । सौराहाका ११० वटा सुविधायुक्त होटल र करिब ६० वटा रेष्टुरेण्टले सेवा दिँदै आएका छन् ।

यहाँ दैनिक दुई हजार ८०० पर्यटक बस्न सक्ने क्षमता छ । वयन्जन्तु तथा थारु संस्कृतिको अवलोकन गर्नुका साथै हात्ती, जिप, डुङ्गा सफारी गर्न सौराहामा पर्यटक आउछन् ।

प्रकाशित : १६ चैत्र २०७४, शुक्रबार १३:४५