आयल निगम भन्छ, मागअनुसारको आपूर्ति भैरहेको छ आतिनु पदैन « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

आयल निगम भन्छ, मागअनुसारको आपूर्ति भैरहेको छ आतिनु पदैन



काठमाडौं । नेपाल आयल निगमले मागअनुसारको पेट्रोलियम पदार्थको आपूर्ति भैरहेको भन्दै नागरिकलाई नआत्तिन आग्रह गरेको छ ।

नेपालमा संविधान घोषणाप्रति असन्तुष्ट भारतले नाकाहरु बन्द गर्नेसम्मको चर्चाले पेट्रोलियम पदार्थको अभाव हुने आशंकामा यतिखेर राजधानीका पेट्रोलपम्पहरुमा लामो लाइन सुरु भएको छ । निगमका प्रबन्ध निर्देशक गोपालबहादुर खड्काले भने हालसम्म आपूर्तिमा कुनै समस्या नरहेको बताएका छन् ।

‘दैनिकरुपमा मागअनुसार भारतीय आयल कर्पोरेसनले तेल उपलब्ध गराइरहेको’ उनले हामीलाई जानकारी गराए ।

बन्द, लगातारको बिदा र नाकाबन्दीको चर्चाले उपभोक्ताहरु आत्तिएर अधिक सञ्चय गर्न खोज्दा पम्पहरुमा भीड बढेको उनको दाबी छ ।

भैरहवा र रक्सौल नाकाबाट दिनहुँ मागअनुसार पेट्रोलियम पदार्थ भित्रिरहेको र निगमले पनि सामान्य समयभन्दा पनि बढी बिक्री गरिरहेकोसमेत उनको दाबी छ ।

उपभोक्तालाई नआत्तिन र अधिक सञ्चयतिर नलागी आवश्यक मात्र खरिद गरिदिन पनि खड्काले आग्रह गरे ।

भूकम्प र बन्दका बेलासमेत सहज किसिमले आपूर्ति गरेको र आवश्यक भन्डारण पनि कायम गरिएको भन्दै प्रबन्द निर्देशक खड्काले निगम सहज आपूर्तिका लागि संवेदनशील भएर लागिरहने पनि उल्लेख गरे ।

प्रकाशित : ५ आश्विन २०७२, मंगलवार १५:५७