सिद्धार्थ बैंक र नेपाल आवास गाभिने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

सिद्धार्थ बैंक र नेपाल आवास गाभिने



काठमाडौं। ‘सिद्धार्थ डेमलपमेण्ट बैंक लिमिटेड’ र नेपालको पहिलो फाइनान्स कम्पनी ‘नेपाल आवास फाइनान्स लिमिटेड’ मर्ज हुने भएका छन् । यस अघि सिद्धार्थ डेभलपमेण्ट बैंकले एकता विकास बैंकसँग मर्जको लागि २०७२ भाद्र २१ गते सम्झौता गरिसकेको छ ।

काठमाण्डौंको तिनकुनेमा केन्द्रीय कार्यालय रहेको राष्ट्रिय स्तरको सिद्धार्थ डेभलपमेण्ट बैंक र सोही स्थानमा केन्द्रीय कार्यालय रहेको राष्ट्रिय स्तरको नेपाल आवास फाइनान्स एक आपसमा गाभिने सम्बन्धि संझौतापत्रमा हस्ताक्षर भएको छ । उक्त सम्झौतापत्रमा सिद्धार्थ डेभलपमेण्ट बैंकका तर्फबाट मर्जर समितिका संयोजक तथा संचालक रामबहादुर भण्डारी र नेपाल आवास फाइनान्सका तर्फबाट संचालक समिति अध्यक्ष दामोदर सापकोटाले हिजो आश्विन ५ गते हस्ताक्षर गरेका थिए ।

गत आषाढ मसान्तको अपरिष्कृत वित्तीय विवरण अनुसार सिद्धार्थ बैंक र एकता बिकास बैंकको मर्ज पश्चात बन्ने एकिकृत बैंकको चुक्ता पूंजी ८४ करोड ५० लाखमा नेपाल आवास फाइनान्सको मर्जर पश्चात जम्मा चुक्ता पुँजी १ अरब ४ करोड ५८ लाख पुग्ने छ । नेपाल आवासको हालको चुक्ता पुँजी जम्मा २० करोड ८ लाख रहेको छ । तिन संस्था मर्ज भएपछि जगेडा कोषमा जम्मा ३२ करोड ७६ लाख रुपैयाँ रहने छ । हाल सिद्धार्थको २५ करोड ६९ लाख र नेपाल आवासको ७ करोड ७ लाख जगेडा रहेको छ । हाल सिद्धार्थको शाखा संख्या २८ र नेपाल आवासको १ रहेका छन ।

हाल सिद्धार्थ डेभलपमेन्ट बैंकको जम्मा निक्षेप ९ र्अब २६ करोड र नेपाल आवासको ५४ करोड रहेको छ । मर्ज पश्चात जम्मा निक्षेप ९ अरब ८० करोड रहने छ भने कुल कर्जा लगानी ८ अरब १७ करोड पुग्ने छ । हाल सिद्धार्थको ७ अरब ५३ करोड कर्जा लगानी र नेपाल आवासको ६४ करोड रहेको छ । खुद मुनाफातर्फ  सिद्धार्थको २० करोड ९४ लाख र नेपाल आवासकोे १ करोड ४१ लाख गरी कुल २२ करोड ३५ लाख हुनेछ भने निष्कृय कर्जा २.६ प्रतिशत र कर्मचारी संख्या  सिद्धार्थको २६६ र नेपाल आवासको १८ गरी  कुल २८४ हुनेछ । उक्त मर्जर पश्चात बन्ने डेभलपमेण्ट बैंक हाल नेपलामा रहेका विकास बैंकहरु मध्ये सबैभन्दा ठूलो कारोबार भएको विकास बैंक बन्नेछ ।

प्रकाशित : ६ आश्विन २०७२, बुधबार १४:१५