हवाई इन्धन बंगलादेशबाट ल्याउने तयारी « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

हवाई इन्धन बंगलादेशबाट ल्याउने तयारी



1778265763_1443585019काठमाडौं । भारतले गर्दै आएको अघोषित नाकाबन्दीले इन्धन आपूर्तिमा कठिनाइ भएपछि  सरकारले वैकिल्पक मार्गबाट हवाई इन्धन ल्याउने तयारी गरेको छ ।आजको कान्तिपुर दैनिकमा खबर छ– इन्धन आपूर्ति ठप्प भएपछि हवाई इन्धन बंगलादेशबाट ल्याउने तयारी गरेको हो ।

‘अहिले विशेष परिस्थिति भएकाले हवाईजहाज सहज सञ्चालनका लागि बंगलादेशबाट इन्धन ल्याउने गृहकार्य गरिरहेका छौं,’ निगमका प्रबन्ध निर्देशक गोपालबहादुर खडकाले भने, ‘इन्धन हवाईजहाजबाट ल्याउने छौं । तयारी सोहीअनुसार भएको छ ।’

निगमका अनुसार २०३१ सालबाट भारतीय आयल कर्पोरेसन्स (आईओसी) बाट इन्धन आयात गर्दै आएको छ । सम्झौताअनुसार पाँच वर्षमा नवीकरण हुन्छ । नेपालले चाहेको अवस्थामा अन्य मुलुकबाट पनि इन्धन आयात गर्न सक्छ । तर, अन्य मुलुकबाट इन्धन आयात गर्दा महँगो र कठिनाइ भएकाले अहिले आईओसीबाट मात्रै इन्धन आयात गर्दै आएको निगमले  जनाएको छ । अहिले विशेष परिस्थिति भएकाले बंगलादेशबाट आयात गर्ने तयारी भएको हो ।

‘सम्झौताअनुसार भारतले निर्वाध रूपमा इन्धन दिनुपर्ने हो,’ खडकाले भने, ‘तर, भारतले दिएको छैन ।’ उनका अनुसार तत्कालका लागि  हवाई इन्धन मात्रै ल्याइने छ । डिजेल र पेट्रोल आयात गर्दा केही महँगो पर्ने भएकाले हवाई इन्धन मात्रै ल्याउने गृहकार्य भएको उनले बताए ।

यस्तै इन्धन वितरणमा भारत सहमत नभए चीनबाट आयात गरेर आपूर्ति सहज बनाउने सरकारी योजना पनि छ । वाणिज्य तथा आपूर्ति मन्त्रालय स्रोतका अनुसार अबको दुई दिन सम्ममा भारतले नाकाबन्दी फुकुवा नगरे चीनबाट इन्धन आयात गर्ने तयारी भइरहेको छ । यसका लागि सम्बन्धित निकायसँग छलफल भइरहेको ती अधिकारीले बताए ।

सरकारसँग सीमित मात्रामा मौज्दात भएकाले अन्तर्रा्ष्ट्रिय वायुसेवा कम्पनीलाई मंगलबारदेखि इन्धन दिन बन्द गरिएको छ । काठमाडौंमा  तेल आपूर्ति सहज नभएसम्म अन्तर्रा्ष्ट्रिय उडानहरूले भारतको लखनउ, दिल्ली, बंगलादेशबाट तेल भर्ने छन् । कोरिया, चिनियाँलगायत  पूर्वी रुटमा उडान भर्ने जहाजहरूले ढाका बैंककमा तेल हाल्ने तालिका मिलाएका छन् ।

निगमका इन्जिनियर प्रदीप यादवका अनुसार अन्तर्रा्ष्ट्रिय हवाई इन्धनमा समस्या देखिए पनि आन्तरिक उडानतर्फ भने समस्या छैन ।  करिब २५ दिनलाई पुग्ने हवाई इन्धन स्टकमा रहेको उनले बताए । उनका अनुसार आन्तरिक उडानका लागि दैनिक ५० किलोलिटर हवाई इन्धन चाहिन्छ । निगमसँग करिब १५ सय किलोलिटर हवाई इन्धन मौज्दात छ ।

यस्तै सम्झौताअनुसार इन्धन वितरण नगरेको भन्दै निगमले भारतीय आयल कर्पोरेसन्स (आईओसी) लाई पत्राचार गरेको छ । नेपालबाट ट्यांकर भारत पुगे पनि आईओसीले किन लोड नगरेको भन्दै वितरण शाखाले पत्राचार गरेको निगमले जनाएको छ । आईओसीले राजनीतिक तहमा कुरा मिले चौबीसै घण्टा इन्धन दिन तयार रहेको जानकारी दिएको खडकाले बताए ।

प्रकाशित : १३ आश्विन २०७२, बुधबार ०४:२५