मुलुककै ठूलो चीज कारखानाको उत्पादन बन्द « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

मुलुककै ठूलो चीज कारखानाको उत्पादन बन्द



इलाम । इलामको पशुपतिनगरमा रहेको मुलुककै ठूलो चीज कारखानासहित यहां रहेका पाँच वटा सरकारी चीज कारखानाको उत्पादन बन्द भएको छ ।

देशमा जारी बन्द, हड्ताल र पेट्रालियम पदार्थको आपूर्ती नहुंदा सबारी साधन नचलेपछि चीजको खपत नहुँदा उत्पादन बन्द भएको हो ।

दुग्ध विकास संस्थानअन्तर्गत रहेका चीज कारखानाले उत्पादन बन्द गरेपछि सरकारी र नीजि दुवै खाले चीज उत्पादक कारखाना सङ्कटमा परेका छन् ।

गत वैशाख १२ र २९ गते गएको भूकम्पका कारण राजधानीलगायत ठूला शहरमा चीज निकासी हुन सकेका थिएनन् । त्यस लगत्तै तराईमा जारी बन्द, हडतालका कारण पनि चीज ढुवानी हुन सकेको छैन ।

चीज ढुवानी नहुँदा राँके, रक्से, माइपोखरी, पशुपतिनगर र नयाँबजारमा सञ्चालित चीज कारखाना उत्पादन नभएपछि बन्द भएका हुन् । अहिले चीज खपत नभएर कारखानामा राख्ने ठाउँ समेत नभएको संचालकहरु बताउंछन् ।

सरकारी स्वामित्वमा रहेका यी चीज केन्द्र बाहेक जिल्लामा अन्य थुप्रै चीज कारखाना स्थापना भएका छन् । सरकारी स्वामित्वमा रहेका पाँच वटा चीज कारखानामा ३० हजार किलोग्राम चीज तयारी अवस्थामा छ ।

सबैभन्दा बढी पशुपतिनगरमा ११ हजार किलो चीज विक्री नभएर त्यसै थन्किएको छ । कारखाना वन्द भएपछि त्यहां रहेका सयौं कर्मचारीहरु समस्यामा परेका छन् ।

प्रकाशित : १३ आश्विन २०७२, बुधबार ०४:२८