कोशी करिडोरको निर्माण कार्य अघि बढ्यो « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

कोशी करिडोरको निर्माण कार्य अघि बढ्यो



–जितबहादुर भण्डारी
पाँचथर।  पूर्वी पहाडलाई तराई र काठमाडौँसँग जोड्ने दु्रत सडक मार्गको रुपमा लिइएको ‘कोशी करिडोर’को काम अघि बढेको छ । पुष्पलाल (मध्यपहाडी) लोकमार्ग छोट्याउने गरी अघि सारिएको यो योजनाको सातवटा प्याकेजकै ठेक्का स्वीकृत भएको छ ।

सुनसरीको चतरादेखि पाँचथरको गणेश चोकसम्म दुई लेनको सडक बनाउने ‘कोशी करिडोर सडक विस्तार योजना–२’को पाँच प्याकेजको काम शुरु हुन लागेको छ भने दुई प्याकेज ठेक्का सम्झौता हुने चरणमा छन् ।

पाँच प्याकेजको ठेक्का सम्झौता भई कार्यान्वयनमा आइसकेको आयोजनाका इञ्जिनियर नारायण पौडेलले बताउनुभयो । उहाँका अनुसार दुई प्याकेजको ठेक्का स्वीकृत भइसकेकाले सम्झौता मात्र हुनबाँकी छ । रु ६ अर्ब १३ करोडको ठेक्का स्वीकृत भएको उहाँको भनाइ छ ।

रु चार अर्ब ९२ करोडमा ठेक्का लागेको पाँच प्याकेजमा काम शुरु हुन थालेको इञ्जिनियर पौडेलले जानकारी दिनुभयो । हालै दुई प्याकेजका लागि रु एक अर्ब ४४ करोडको ठेक्का स्वीकृत भएको छ । बोलपत्र स्वीकृत गर्ने आशयको सूचना निस्किएकाले केही दिनमै सम्झौता हुनेछ । एकैपटक सातवटा प्याकेजको बोलपत्र आह्वान गरिएको थियो । दुई प्याकेजको ठेकेदार छनोटमा ढिलाइ भएको थियो । शुरुमा रु सात अर्बको इस्टिमेट थियो ।

सम्झौता भएको ३० महिनाभित्र ठेकेदार कम्पनीले काम सक्नुपर्नेछ । एक सय ४५ किलोमिटर सडकमा ट्र्याक खोल्न र ग्राभेल गर्न ठेक्का लागेको हो । यसअघिको तमोर करिडोरको सडक र नयाँ ट्र्याक खोल्ने काम हुनेछ । ६० प्रतिशत नयाँ र बाँकी ४० प्रतिशत पुरानो ट्यांकीलाई प्रयोग गरिने इञ्जिनियर पौडेलले बताउनुभयो । पुरानो ट्यांकीको पनि चौडाइ बढाउनुपर्नेछ ।

प्रस्तावित तमोर जलाशययुक्त आयोजना बन्ने भयो भने पनि नडुब्ने गरी उचाइमा सडक बनाइने छ । पाँचथरको गणेश चोकमा मध्यपहाडी लोकमार्गलाई यो सडकले भेट्ने छ । यसलाई पूर्वी पहाडका पाँचथर, ताप्लेजुङ, तेह्रथुम र धनकुटाका विभिन्न गाउँबाट तराई तथा राजधानी जान छिटो बाटोको रुपमा लिइन्छ । यो सडकलाई काठमाडौंँसम्म जोड्ने वैकल्पिक राजमार्गका रुपमा विकास गर्न खोजिएको छ ।

मध्यपहाडी लोकमार्गको कार्यालयमार्फत आयोजनाको काम अघि बढाइएको इञ्जिनियर पौड्लले बताउनुभयो । कोशी तथा तमोरको किनारै किनार सडक विस्तार गर्ने गरी काम अघि बढाइएको हो । चतरादेखि मूलघाट आएपछि तमोर करिडोरको बाटो हुँदै पाँचथरको सुभाङ खोला हुँदै मेची राजमार्ग छोएर गणेशचोक पुग्नेछ । यसअघि बनेको मध्यपहाडी लोकमार्ग घुमाउरो भएकाले छिटो बाटो रोजिएको छ ।

ठूलो बजेट भएकाले राम्रो काम हुने जनस्तरमा अपेक्षा रहेको पाइन्छ । यो सडक बनेपछि पूर्वी पहडाका बासिन्दालाई तराई तथा काठमाडौंँसम्म पुग्न सहज हुने उत्तर–दक्षिण लोकमार्गका डिभिजनल इञ्जिनियर कँुवेर नेपाली बताउनुहुन्छ । पूर्वका जनतालाई तराईका धरान, विराटनगर, इटहरी तथा काठमाडौँं जान छोटो बाटोको रुपमा यसलाई लिइएको उहाँको भनाइ छ ।

प्रदेशको राजधानी तथा ठूला अस्पताल जान पनि यो सडक सहज हुने छ । धनकुटाको मूलघाटदेखि सुभाङ खोलासम्म तमोर करिडोरको बाटो कोशी करिडोरमा समायोजन गरिएको छ ।

तमोर नदीको किनारै–किनार यो सडक मूलघाटदेखि चीनको सीमा क्षेत्रमा ओलाङ्चुङगोलातर्फ अघि बढाइएको थियो । कोशी करिडोरमार्फत निक्कै ठूलो बजेटका साथ अघि बढेकाले राम्रो सडक बन्ने नेपाली बताउँछन् ।

चतरादेखि मूलघाटसम्म ३५ र बाँकी मूलघाटदेखि गणेशचोकसम्म रहेको छ । यो ठेक्का अुनसारको काम सकिँदा सडक कालोपत्रे हुने चरणमा पुग्नेछ । चौडाइ विस्तार, घुम्ती, नाला निर्माण तथा ग्राभेलको काम हुनेछ । यो सडकलाई आधार बनाएर विभिन्न शाखा सडकमार्फत विभिन्न बस्तीका बासिन्दाले राहत पाउने देखिन्छ ।

मोटोको बजेट भएकाले यो सडक चाँडो बन्नेमा स्थानीयवासी उत्साहित छन् । यो सडकबाट काठमाडौंँ जान चार सय ४० किलोमिटरको दूरी तय गर्नुपर्ने हुन्छ । ‘पूर्वी पहाडलाई तराई तथा राजधानी जोड्ने यो छोटो बाटो हो ।

प्रकाशित : ८ बैशाख २०७५, शनिबार १५:३७