एभेरेष्ट बैंकको लाभांश प्रस्ताव राष्ट्र बैंकले रोक्ने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

एभेरेष्ट बैंकको लाभांश प्रस्ताव राष्ट्र बैंकले रोक्ने



काठमाडौं। भारतीय पञ्जाब नेसनल बैंकको संयुक्त लगानी रहेको एभरेष्ट बैंकले गरेको नगद लाभांस वितरण गर्ने प्रस्ताबलाई राष्ट्र बैंकले अस्वीकृत गर्ने भएको छ । चुक्ता पुँजी आठ अर्ब रुपैयाँ पुर्याउने प्रष्ट आधार बिनै बैंकले नगद लाभांसको प्रस्ताब गरेको भन्दै राष्ट्र बैंकले रोक्ने भएको हो । बैंक आफैंले गत भदौ मसान्तमा राष्ट्र बैंकमा पेस गरेको पुँजी वृद्धिको योजना विपरित बोनस सेयर र नगद लाभांसको प्रस्ताब गरेपछि राष्ट्र बैंकले स्वीकृति नदिने भएको हो ।

एभरेष्ट बैंकले गत वर्षको नाफा १ अर्ब ५७ करोड ४३ लाख रुपैयाँ बाट ३० प्रतिशत बोनस सेयर र ६.५८ प्रतिशत नगद लाभांस गरी ३६.५८ प्रतिशत लाभांसको प्रस्ताव गर्दै स्वीकृतिका लागि राष्ट्र बैंकमा पठाएको छ । राष्ट्र बैंकको उच्च स्रोतले भन्यो– ‘तर, बैंकको नगद लाभांस स्वीकृत गर्न सक्ने अवस्था छैन ।’

सञ्चालक समितिले प्रस्ताव गरेको ६.५८ प्रतिशत नगद लाभांसलाई पनि बोनस सेयरमै रुपान्तरण गर्न निर्देशन दिने तयारी गरिरहेको उनले बताए । प्रष्ट आधारबिना नगद लाभांसको प्रस्ताब गरेको भन्दै यसअघि राष्ट्र बैंकले सिटिजन्स बैंकको नगद लाभांस रोकिसकेको छ ।

बैंकले राष्ट्र बैंकमा बुझाएको पुँजी वृद्धि योजनामा चालु आर्थिक वष भित्रै ४ अर्ब रुपैयाँ पुँजी पुर्याउने योजना पेस गरेको थियो । बैंकले मर्जरबाट २ अर्ब, सेयर निष्काशनबाट ५४ करोड र बाँकी ३ अर्ब ५३ करोड रुपैयाँ बोनस सेयर जारी गरी चुक्ता पुँजी ८ अर्ब रुपैयाँ पुर्याउने योजना पेस गरेको थियो ।

बैंक तथा वित्तीय संस्थाको सञ्चालक समितिले प्रस्ताब गरेको लाभांस राष्ट्र बैंकको स्वीकृति बिना वितरण गर्न पाईदैन । राष्ट्र बैंकको स्वीकृतिपछि सम्बन्धित संस्थाको साधारणसभाले स्वीकृति दिएपछि मात्रै लाभांस बाँड्न पाइन्छ ।

एभरेष्ट बैंकको चुक्ता पुँजी थोरै भएकाले लगानीकर्ताहरुले ५० प्रतिशतभन्दा बढी बोनस सेयरको अपेक्षा गरेका थिए । हाल बैंकको चुक्ता पुँजी २ अर्ब १३ करोड रुपैयाँ छ । ३० प्रतिशत बोनस सेयर वितरण गरेपश्चात् बैंकको चुक्ता २ अर्ब ७६ करोड रुपैयाँ हुनेछ । यो बैंकमा भारतीय पञ्जाब नेसनल बैंकको २० प्रतिशत लगानी छ । आजको अनलाइन खबरबाट

प्रकाशित : १४ कार्तिक २०७२, शनिबार ०६:०५